प्रधानन्यायाधीशलाई सत्ता गठबन्धनले भन्यो : बिदामा बसेर कार्यवाहक तोक्नुस्
काठमाडौँ । सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अवरोध भएको र प्रधानन्याायधीश बिरामी परेकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर अदालतको काम कारबाही अघि बढाउन सुझाव दिएको हो ।
“प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यवाहक तोकेर सर्वोच्च अदालतको कामकारबाही बढाउन सुझाव दिने गठबन्धनले निष्कर्ष निकालेको छ।” सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने ।
प्रधानन्यायाधीश जबरालाई कोरोना भाइरस संक्रमण देखिएपछि हाल उनी सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचाररत छन् । सर्वोच्चमा प्रधानन्यायाधीशको अधिकार कटौती गर्दै गोलाप्रथा प्रणालीबाट पेसी तोक्ने सुरुवात बुधबारबाट भएपनि प्रधानन्यायाधीशले कार्यवाहक नतोकेको भन्दै इजलास बस्न सकेको थिएन ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरु सहभागी भएका थिए ।