जनताको पक्षमा काम गर्न प्रतिबद्ध भएर लागिरहेका छौँ : मन्त्री श्रेष्ठ

178

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले जनताको पक्षमा प्रतिबद्ध भएर काम गर्न आफूहरु लागि परेको बताएकी छन् ।

नेकपा (माओवादी केन्द्र)को सिन्धपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका सम्मेलनको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र र नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी माओवादीकै प्रयासबाट संविधान बनेकाले त्यसको कार्यान्वयनमा पनि माओवादीनै लागि पर्ने बताइन् ।

मन्त्री श्रेष्ठले महिला, दलित सुकुम्बासी, मुक्त हलीया, कमैया र कमलारीको समस्या समाधान गरेर तल्लो तहमा रहेका नागरिकलाई अधिकार सम्पन्न बनाउनु नै आफ्नो पार्टीको उद्देश्य रहेकाले आफूले मन्त्रालय सम्हालेपछि उनीहरुका पक्षमा काम सुरु गरिसकेको पनि बताइन् ।

मन्त्री श्रेष्ठले जनता अधिकार सम्पन्न भएको मन नपराउनेहरुले संविधान र संघीयतमाथि हमला गरेर संविधानलाई नै मृत्यु शय्यामा पुर्याउने गरी प्रतिनिधिसभा विघटन गरेको भन्दै माओवादी केन्द्रको नेतृत्वमा पाँच दल र नागरिकको साथबाट संविधान जोगाउन सकिएको भएपनि चुनौती अझै रहेकाले त्यसतर्फ सबै सचेत बन्नुपर्ने बताइन् ।

संविधान मास्ने प्रतिगामी तत्वहरु अझै जीवितै रहेकोले संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनको अझै आवश्यकता रहेको पनि मन्त्री श्रेष्ठले बताइन् ।

मन्त्री श्रेष्ठले यस महिनाभित्र सप्तरी र नवलपरासीमा तथा पुस महिना भित्रमा गाउँ ब्लकको अधिकांश ठाउँमा लालपुर्जा वितरणको काम सम्पन्न गरिसक्ने गरी आफुले काम सुरु गरिसकेको बताइन् ।

मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएको पैतृक सम्पतिमा महिलाको हक सुनिश्चित गर्न अंशबन्डा गर्दा महिलालाई अनिवार्य उपस्थित गराउनु पर्ने व्यवस्था कार्यान्वयन गर्न देशभरका मालपोत कार्यालयहरुमा व्यवस्था गरिसकिएको पनि जानकारी दिइन् ।

उक्त कार्यक्रममा नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरी आएका ३०० भन्दाबढी कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै मन्त्री श्रेष्ठले पार्टीले जनपक्षीय काम गरिरहेकै कारण माओवादी केन्द्रप्रति जनताको आकर्षण बढिरहेको पनि बताइन्् ।

Share This:
सम्बन्धित खबर
Loading...