एमाले उपाध्यक्षमा ओलीले प्रस्ताव गरेका सबै विजयी, भुसाल पराजित

241

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वी डा.भीम रावललाई फराकिलो अन्तरले पराजित गर्दै पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भए ।

यस्तै, उपाध्यक्षका लागि भएको निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका सबै जना निर्वाचित भएका छन् । भर्खरै सकिएको मतगणनाअनुसार उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल भने पराजित भएका छन् ।

भुसालले ७२५ मत प्राप्त गरेको एमालेको निर्वाचन आयोगले जनाएको छ ।

उपाध्यक्ष पदमा निर्वाचित बागमती प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेकी अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत पाएकी छन् । उनले १ हजार ९७६ मत पाइन् ।

यस्तै, दोस्रोमा सुरेन्द्र पाण्डेले १ हजार ९२५, सुवासचन्द्र नेम्वाङले १ हजार ८६५, विष्णु पौडेलले १ हजार ८५६, युवराज ज्ञवालीले १ हजार ८४२ र रामबहादुर थापा‘बादल’ले १ हजार ७६८ मत पाएका छन् । घनश्याम भुसालले जम्मा ७२५ मत ल्याएका छन् ।

अध्यक्ष ओलीले महाधिवेशनको बन्दसत्रमा भुसालबाहेक शाक्य, पाण्डे, नेम्वाङ, पौडेल, ज्ञवाली र बादलको नाम सर्वसम्मतिका लागि उपाध्यक्षमा प्रस्ताव गरेका थिए ।

त्यसलाई चुनौती दिँदै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । भुसाल नवौँ महाधिवेशनमा उपमहासचिवमा निर्वाचित भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...