काठमाडौँ । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा अनुमानित भन्दा करिब डेढ करोड रुपैयाँ बढी खर्च लाग्ने भएको छ ।
एमालेको महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म तय भए पनि तोकिएको समयमा नेतृत्व चयनको प्रक्रिया सम्पन्न हुन नसकेपछि दुई दिन लम्बिन पुगेको थियो ।
१२ गते एक दिन सहमतिको प्रयास गरिँदा निर्वाचन कार्यक्रम र बन्दसत्र प्रभावित भएको थियो भने त्यसपछि निर्वाचन कार्यक्रम अघि बढाउँदा आजसम्म लाग्न पुगेको हो ।
एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले दिएको जानकारीअनुसार महाधिवेशनको खर्च ९ करोड रुपैयाँ पुग्ने भएको हो । यसअघि साढे ७ करोड लाग्ने अनुमान गरिएकोमा महाधिवेशन लम्बिँदा डेढ करोड रुपैयाँ खर्च बढेको तामाङले जानकारी दिए ।
यसअघि आइतबार सक्ने भनिएको महाधिवेशन मंगलबार मात्र सकिने भएको छ । आज एमालेको अध्यक्ष, उपाध्यक्ष, सचिव र केही केन्द्रीय सदस्यका लागि मतदान भएको छ भने मतदानको नतिजा पनि आजै आउने छ ।
एमाले महाधिवेशनको उद्घाटन चितवस्थित नारायणी नदी किनार र बन्दसत्र सौराहामा भएको हो । महाधिवेशनमा एमालेका २ हजार १५३ प्रतिनिधि सहभागी छन् ।