काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताएका छन् ।
चन्द्रगिरि नगरपालिका–२ वाडभञ्ज्याङस्थित चण्डिकादेवी माध्यमिक विद्यालयमा सोमबादेखि सुरु भएको श्रमद्भागवत सप्ताह महायज्ञको उद्घाटन गर्दै उनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षा आवश्यक रहेकाले शैक्षिक प्रणालीमा सुधार गर्नुपर्ने बताए ।
“शिक्षामा आएका दरार हटाउँदै, समान शिक्षाका लागि आन्दोलन जरुरी छ, शिक्षा क्षेत्रमा विभेद हुन हुँदैन । पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरसमेत बढेर गएको छ । विद्यालय व्यवस्थापन समिति र विद्यालय मिलेर अगाडि बढे शैक्षिक क्षेत्रको रुपान्तरण सम्भव छ,” उनले भने । सामुदायिक विद्यालयलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
पूर्वसांसद् रुपा महर्जन, चन्द्रगिरि नगरपालिका–२ का वडाध्यक्ष गोपी सुर्खेतीले सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि सबैको साथ र सहयोग रहेको उल्लेख गर्दै विद्यालयलाई प्रविधिमैत्री र गुणस्तरीय शैक्षिक वातावरण तयार गर्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए ।
सोमबारदेखि सुरु भएको महायज्ञ मंसिर २१ गतेसम्म सञ्चालन हुने छ । उक्त महायज्ञमा पण्डित वासुदेव घिमिरेले कथा वाचन गर्ने छन् ।