काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाल)ले चितवनमा कुम्भ मेला प्रदर्शन गरेको टिप्पणी गरेका छन् ।
राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले फरक मत राख्ने व्यक्तिहरुमाथि चितवनमा भएको अत्याचारले एमालले आफ्नो चरित्र प्रदर्शन गरेको आरोप लागाएका हुन् । उनले नेकपा एमाले दक्षिणपन्थी भासमा भासिएको बताउँदै एमाले कम्युनिस्ट पार्टी हुन नसक्ने तर्क गरे ।
अध्यक्ष नेपालले लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरुबीच गठबन्धन भएको बताउँदै आफूहरुको यात्रा समानता र एकताको यात्रा भएको जिकिर गरे । समाजबाट भेदभाव हटाउन संघर्ष गर्नुपर्ने, समाजमा रहेको छुवाछुतलगायतका कुसंस्कारलाई हटाउन पहल गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ छ ।
अध्यक्ष नेपालले समाजमा भएका अन्याय अत्याचारका विरुद्ध लड्न आफ्नो पार्टी स्थापाना भएको बताउँदै राजनीतिक क्षेत्रमा परिवर्तन भएपनि अन्य क्षेत्रमा परिवर्तन बाँकी रहेकाले देशको आमूल परिवर्तनमा सांस्कृतिककर्मीको भूमिका महत्वपूर्ण हुने बताए ।