सम्झौताअनुसार सेवा सुविधा नदिने कम्पनीलाई कालो सूचीमा राखिन्छ : मन्त्री श्रेष्ठ

211

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई सम्झौताअनुसार सेवा सुविधा नदिने कम्पनीहरुलाई कालो सूचीमा राखिने बताएका छन् ।

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुसँग वैदेशिक रोजगारी र पुनःएकीकरणबारे मन्त्रालयमा आज भएको छलफलमा मन्त्री श्रेष्ठलेसम्झौताअनुसार सेवा सुविधा नदिने कम्पनीहरुलाई कालो सूचीमा राखिने र अबउप्रान्त त्यस्ता कम्पनीहरुमा कामदार नपठाइने बताए ।

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुले कोरोना महामारीका कारण रोजगारी गुमाएर फर्कदा बाँकी पारिश्रमिक समेत नपाएको गुनासो गरेका थिए ।

उनीहरुले सम्झौताअनुसारकाम र पारिश्रमिक नपाएको, बिरामी हुँदा उपचार नपाएको तथा नेपाल फर्कनुपर्दा चन्दा संकलन गर्नुपरेको बताएका थिए । साथै उनीहरुले हातमा सीप नहुँदा विदेशी भूमिमा दुःख पाएको र अन्य देशका श्रमिक सरह सुविधा नपाएको पनि गुनासो गरेका थिए । गैरकानुनी बाटोबाट गएका घरेलु कामदारहरुले न्यून तलवमा काम गर्नुपरेको तथा हिंसाको शिकार भएको गुनासो गरेका थिए ।

कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुका साथै आप्रवासी कामदारको पक्षमा काम गरिरहेका संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता थियो ।

कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्किने श्रमिकलाई पुर्नमिलन, सामाजिक तथा आर्थिक सशक्तिकरण गर्दै अगाडि बढाउने सरकारको योजना रहको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...