रुकुमबाट समाजवादको आधार तयार हुन्छ : अर्थमन्त्री शर्मा

181

रुकुम । अर्थमन्त्री जनार्दन शर्माले रुकुमबाट समाजवादको आधार तयार हुने उद्घोष गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिम अन्तरगत त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाको सम्मेलनहरु उद्घाटन गर्दै मन्त्री शर्माले यसअघि जनयुद्धको आधार इलाका बनेको रुकुम अब समाजवादको आधार क्षेत्र बन्ने बताएका हुन् । “रुकुम जिल्ला पहिले जनयुद्धको आधार इलाका थियो, अब यहाँबाट समाजवादको आधार तयार हुन्छ,” उनले भने ।

उनले संविधानमा लेखिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने र समाजवादको आधार तयार पार्ने कार्यमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए । अबको पाँचदेखि सात वर्षभित्र रुकुमलाई गरिबी र वेरोजगारमुक्त जिल्ला बनाउने गरी अघि बढ्न उनले आग्रह गरे । मन्त्री शर्माले युवाहरुलाई विदेश जान छोडेर जिल्लाभित्रै उत्पादन र रोजगारीको अभियानमा जोडिन आग्रह गरे । जिल्लामा चलिरहेको आर्थिक समृद्धि तथा सामाजिक सांस्कृतिक रुपान्तरणको अभियानमा जोडिएर स्वरोजगार हुन उनले आग्रह गरे ।

यसैबीच मुसिकोट नगरपालिकाको सोलावाङमा ३० करोडको लागतमा बन्न लागेको डेरी उद्योगको शिलान्याश गर्दै मन्त्री शर्माले यसबाट पालिकाका किसानहरु आत्मनिर्भर बन्ने क्रमको सुरुवात हुने बताए । दैनिक एक लाख लिटर दुध संकलन गरेर प्रशोधन गर्ने लक्षसहित निर्माण हुन लागेको डेरी उद्योगमा आवश्यक पर्ने दुध उत्त्पादन गर्नका लागि किसानहरुलाई उन्नत जातको दुधालु भैँसी र उन्नत जातको दुधालु गाई लागत सहभागितामा वितरण गरिने जानकारी दिए ।

“यसबाट हरेक दिन किसानको घरमा पैसा भित्रिन्छ, प्रशोधित दुधबाट बन्ने पदार्थबाट प्राप्त आम्दानीमा समेत किसानहरुको हिस्सा लाग्छ,” उनले भने । जनतालाई गरिबीबाट माथि उठाउने र हरेक युवालाई स्वरोजगार बनाउने अभियान यसैबाट सुरु हुने छ । आगामी छ महिनाभित्र निर्माण सम्पन्न हुने लक्ष्य रहेको डेरी उद्योग सरकारी स्वामित्वको स्यार्पु कृषि कम्पनीको नाममा बन्न लागेको हो ।

“समृद्धिको अभियान भनेको सबभन्दा कमजोर अवस्थामा रहेको जनतालाई आत्मनिर्भर बनाउने अभियान हो, समृद्धिको अभियान भनेको आर्थिक कुरा मात्र होइन, शिक्षामा सुधार, स्वास्थ्य सेवामा स्तरोन्नती, उत्पादनमा वृद्धि हो । यो कामलाई तीव्रताका साथ अघि बडाउनुस्,” उनले थपे, “उपलब्ध प्राकृतिक स्रोत साधन र श्रम शक्तिलाई जोडेर उत्पादनमा लगाउने कामको सुरुवात गर्दैछौँ ।”

Share This:
सम्बन्धित खबर
Loading...