विद्यालयलाई उद्यमस्थल बनाउनुपर्छ : अर्थमन्त्री शर्मा

217

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताएका छन् । बुधबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताएका हुन् ।

अब हाम्रा विद्यालय कृषि फर्म, गाई फर्म, कुखुरा फर्मलगायत बगैँचासहितको हुनुपर्‍यो । विद्यालय उद्योग हुनुपर्‍यो,” मन्त्री शर्माले भने, “एकातिर पढ्ने जनशक्ति निर्माण गर्ने, अर्कोतिर उनीहरूको श्रम प्रयोग गरेर उत्पादन गर्ने हुनुपर्‍यो ।” उनले समाजवादतिर जान हरेक विद्यालयले एउटा उद्यम गर्नैपर्ने बताए । त्यसका लागि शिक्षक र शिक्षक संगठनले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

विद्यालयलाई उद्यम केन्द्रित बनाउँदा सामुदायिक पुँजी निर्माण हुने भन्दै मन्त्री शर्माले त्यो समाजवादको आधार बन्ने बताए । यसले उत्पादनका स्रोत र साधनमा सामुदायिक स्वामित्व रहने उनको भनाइ छ । सामुदायिक स्वामित्वबाटै समाजवादको आधार तय हुने उनले बताए । “विद्यालयको पुँजी भनेको सामुदायिक हुन्छ,” उनले भने, “त्यस्तै किसिमको अरू सामुदायिक पुँजी निर्माण गर्ने समूह/समुदाय बनाउनुपर्छ ।” त्यसमा व्यक्तिगत सम्पत्ति आर्जन गर्न रोक नहुनेसमेत उनले स्पष्ट पारे ।

मन्त्री शर्माले पछिल्लो समय विद्यालय नयाँ खोल्नुभन्दा मेगा विद्यालय बनाउनुपर्ने बताएका छन् । उनले थोरै विद्यार्थी तर धेरै विद्यालय हुँदा गुणस्तरीय शिक्षा प्रदानमा समस्या भइरहेको बताउँदै सो धारणा राखे । “अब ठुलो/मेगा विद्यालय बनाउनुपर्छ र त्यहीँ शैक्षिक प्रविधिलाई केन्द्रित गर्नुपर्छ,” उनले भने, “त्यसो गर्दा शिक्षा क्षेत्रमा गुणात्मक असर पार्छ ।” उनले एकै ठाउँ हजारौँ विद्यार्थीलाई पढाउने भौतिक संरचना बनाएर सोअनुसार केन्द्रिकृत गर्नुपर्ने बताएका हुन् ।

पछिल्लो समय केही स्थानबाहेक सडक पूर्वाधार विकास भएकाले त्यो सम्भव हुने उनको भनाइ छ ।
शिक्षकहरूको विभिन्न मागका सम्बन्धमा शिक्षा मन्त्रालयबाट पूरा हुने र कतिपय माग आगामी बजेटमा सम्बोधन गरिने आश्वासन दिए ।

यसैगरी नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्यसमेत रहेका मन्त्री शर्माले पार्टीले ‘प्रचण्डपथ’ त्यागेर ठुलो गल्ती गरेको बताए । प्रचण्डपथ त्यागेकै कारण पार्टी विचलित र फुटको स्थितिमा पुगेको बताए ।

“शान्ति प्रक्रियामा आउँदै गर्दा प्रचण्डपथलाई निर्णय गरेर हटायौँ,” उनले भने, “त्यो ठुलो गल्ती थियो । मैले त्यतिबेला नै यो गल्ती हुँदै छ भनेको थिएँ ।” प्रचण्डपथले नै त्याग, बलिदान, विचार तथा संगठनलाई केन्द्रिकरण गरेको बताउँदै उनले त्यो त्याग्नासाथ पार्टीमा विभाजन भएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...