काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीमा देखिएको समस्या र समाधानबारे छलफल गरेको छ ।
मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिन संसदीय समितिले आयोजना गरेको कार्यक्रममा वैदेशिक रोजगारी र आन्तरिक श्रम बजारलाई व्यवस्थित गर्नेबारे छलफल भएको हो ।
फ्रि भिसा र फ्रि टिकट कार्यान्यवन नहुँदा भइरहेको ठगी, भिजिट भिसाको नाममा अवैध बाटोबाट विदेश लैजाने प्रवृति, अवैध बाटोबाट गएका घरेलु कामदारको समस्याका साथै बेरोजगारी समस्या समाधानबारे समितिका सदस्यहरुले चासो राखेका थिए ।
मन्त्री श्रेष्ठले विचौलियाहरूको ठगी अन्त्य गरेर वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाइने बताए । मन्त्री श्रेष्ठले राम्रो गन्तव्यमा नेपाली कामदार पठाउन सरकारले पहल गरिरहेको जानकारी दिए ।
उनले सरकारले बेलायतमा फास्ट ट्रयाकबाट १० हजार नर्स पठाउन औपचारिक पहल सुरु गरेको जानकारी दिँदै सीप सिकाएर राम्रा गन्तव्य मुलुकमा श्रमिक लैजाने गरी तयारी अघि बढेको उनले बताए ।
दक्षिण कोरियामा कोरोनाका कारण रोकिएका कामदार पठाउन सुरु गरिएको भन्दै उनले आगामी जनवरीसम्म ६०० जना कामदार पठाइने बताए ।
इजरायलमा रोजगारीका लागि भाषा परीक्षा पास गरेका कामदारको स्वास्थ्य तथा पुलिस रिपोर्टसम्बन्धी काम सकिएर प्रशासनिक काम मात्र बाँकी रहेकाले छिट्टै इजरायल पठाइने बताए ।
मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले वैदेशिक रोजगारीको नयाँ गन्तव्य खोजी भइरहेको बताउँदै विभिन्न रोजगारदाता देशसँग श्रम सम्झौता र नवीकरणको तयारी भइरहेको बताए ।
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको सदस्य समेत रहेका मन्त्री श्रेष्ठलाई समितिमा बधाई ज्ञापन गरिएको थियो ।