एनआरएनलाई ‘डलर खाता’ खोल्न दिनेबारे छलफल भइरहेको छ : अर्थमन्त्री शर्मा

312

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले गैरआवसीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको जानकारी दिएका छन् । मंगलबार राष्ट्र बैंक परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा उनले सो जानकारी दिएका हुन् ।

उनले सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरनलाई डलर खाता खोल्न दिने बारे छफलफल भइरहेको बताए । “सञ्चितिको अवस्थालाई अलिकति सन्तुलन गर्नका लागि एनआरएनहरूले डलर खाता खोल्न पाउने बारे हाम्रो कुरा भइरहेको छ,” मन्त्री शर्माले भने, “उनीहरूले यहाँ पैसा राख्न पाउने, ब्याज पाउने र उता लैजान पाउने सहज खालको वातावरण निर्माण गर्ने बारे हाम्रो छफलफल भइरहेको छ ।” एनआरएनको पैसा बाहिरै रहेकाले त्यसलाई नेपाल भित्र्याएर लगानी गरी सदुपयोग गर्न सकिने उनले बताए ।

मन्त्री शर्माले पछिल्लो समय ‘डिजिटल करेन्सी’को कुरा भइरहेको भन्दै त्यसका लागि पहिले पूर्णरूपमा डिजिटल कारोबार गर्नुपर्ने बताए । “हामी डिजिटल कारोबारमै जान सकेका छैनौँ,” उनले भने, “अहिले डिजिटल करेन्सीको कुरा आइरहेको छ । पहिले पूर्णरूपमा डिजिटल कारोबार लागु गर्ने वातावरण बनाऔँ, त्यसपछि डिजिटल करेन्सीमा जान सकिन्छ ।” पूर्णरूपमा डिजिटल कारोबारमा जानलाई आम मानिसलाई वित्तीय साक्षरता भनेझैँ डिजिटल साक्षरता आवश्यक हुने पनि उनले बताए । त्यसका लागि राष्ट्र बैंकले सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

यस्तै उनले राष्ट्र बैंकका कर्मचारीसँग बैंकहरू डराउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए । अझै पनि कर कार्यालयको अधिकृत भन्ने वित्तिकै करदाता डराउने, भन्सारको अधिकृत भनेपछि आयातकर्ताहरू यताउता हुने स्थिति रहेको र राष्ट्र बैंकका अनुगमन कर्मचारी भन्ने वित्तिकै बैंकहरू डराउनुपर्ने अवस्था रहेको भन्दै सहज वातावरण बनाउनुपर्ने बताए । त्यस किसिमको अवस्थाले समावेशी लोकतन्त्रअनुसारको चरित्र तथा मानसिकता अझै विकास भइनसकेको बुझाउने उनले बताए ।

सरकारले लिएको आर्थिक वृद्धि दरको लक्ष्य प्राप्त गर्न पुँजीगत खर्च बढाउने, पर्यटन क्षेत्रलाई पुनर्जिवित गर्ने तथा बन्द उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी रहेको मन्त्री शर्माले जानकारी दिए । आर्थिक वृद्धिमा बेमौसमी वर्षाले रणनैतिक असर पारे पनि लक्ष्यमा पुग्न अन्तिम समयसम्म कार्य गर्नुपर्ने बताए ।

यसैबीच मन्त्री शर्माले वैदेशिक रोजगारीमा रहेकाको सञ्चय कोष व्यवस्था गर्ने विषयमा पनि मन्त्रालयमा छलफल भइरहेको बताए । मंगलबार नै राष्ट्र बैंकको कामकारबाही बारे सङ्क्षिप्त जानकारी लिँदै उनले हुन्डी कारोबारलाई रोक्न सो व्यवस्था गर्ने बारे छफलफल भइरहेको बताए । “विदेशमा रहेकाको सञ्चय कोष बनाएर केही रकम हामीले यहाँ थपिदिएर औपचारिक माध्यमबाटै सबै पैसा पठाउने वातावरण बनाउने तयारी भइरहेको छ,” मन्त्री शर्माले भने ।

Share This:
सम्बन्धित खबर
Loading...