एमाले महाधिवेशन : अन्तर्राष्ट्रियस्तरका ६० पार्टीलाई निमन्त्रणा

509

काठमाडौँ । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनमा सो पार्टीसँग भाइचारा र मैत्रीपूर्ण सम्बन्ध रहेका अन्तर्राष्ट्रियस्तरका करिब ६० पार्टीलाई निमन्त्रणा गरिएको छ । एमालेको महाधिवेशन यही मंसिर १०–१२ गतेसम्म चितवनमा हुँदै छ ।

कोरोना महामरीका कारण अन्तर्राष्ट्रिय यात्रा गर्ने कुरा त्यति सहज नभएको अवस्थामा महाधिवेशनमा उपस्थित हुने अन्तर्राष्ट्रिय पाहुनाको संख्या तुलनात्मकरुपमा कम हुने आंकलन पनि गरिएको छ । सो पार्टीको महाधिवेशनका लागि गठित अतिथि सत्कार कमिटीका संयोजक डा.राजन भट्टराईले उपस्थित नुहने पाहुनाले सफलताको शुभकामना सन्देश पठाएको जनाए ।

अहिलेसम्म भारतबाट तीनवटा पार्टी भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादी, भारतीय कम्युनिस्ट पार्टी र भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादी लेलिनवादी लिबरेसन पार्टीले आउने निश्चित गरेका छन् । फरवार्ड ब्लकले पनि महाधिवेशनमा आउने निश्चित गरेको जनाइएको छ ।

त्यसैगरी, बंगलादेशको कम्युनिस्ट पार्टी अफ बंगलादेशका तर्फबाट आउने निश्चित भएको छ भने रिभोलेसनरी वर्कर पार्टी र श्रीलंकाबाट जेभिपी पार्टीका प्रतिनिधि आउने बताइएको छ ।

एमालेका विदेश विभाग प्रमुख भट्टराईले कम्बोडियाको सत्तासिन पार्टी कम्बोडियन पिपुल्स पार्टीका प्रतिनिधिले आउने निश्चि गरेको र फ्रेन्च कम्युनिस्ट पार्टीले पनि प्रतिनिधि पठाउने भनेको छ । टर्कीको वामपन्थी पार्टीले आउने निश्चित गरेको छ ।

युरोपमा पनि पछिल्लो समय कोरोना संक्रमण बढेका कारण युरोपियन पार्टीहरुले आउन चासो राख्दा–राख्दै पनि आउन नसक्ने स्थिति भएकाले सन्देश पठाउने भएका छन् । दक्षिण एसियाका अरु रुलिङ पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीले आउन नसक्ने भन्दै शुभकामना सन्देश पठाउने भएका छन् ।

नर्थ कोरिया पार्टी, भियतनाम र लावसले प्रतिनिधि नै पठाउन सक्ने या शुभकामना सन्देश पठाउने भन्ने विषयमा टुंगो गर्ने भएका छन् । नेता भट्टराईका अनुसार अहिलेसम्म बेल्जियमबाट शुभकामना सन्देश प्राप्त भएको छ । आयरल्यान्डबाट शुभकामना सन्देश प्राप्त भएको छ । जर्मनी र रसियाका तीनवटा पार्टीले शुभकामना सन्देश पठाउने भएका छन् ।

देशभित्रका संघीय संसद्मा रहेका सातवट राजनीतिक दललाई महाधिवेशनको उद्घाटन सत्रमा निम्ता दिइएको छ । “हामीले देशभित्रका कूटनीतिक नियोगका प्रमुखहरुलाई पनि निम्ता गरेका छौँ, कतिपय प्रमुखहरुले आउने भनेर हामीलाई खबर पनि गर्नुभएको छ,” उनले भने ।

अन्तर्राष्ट्रिय पाहुनालाई ढिलोमा मंसिर ९ गतेसम्म काठमाडौँ आइपुग्न भनिएको र उनीहरुलाई १० गते बिहान काठमाडौँबाट चितवन लगिने छ । चितवनमा उद्घाटनसत्रमा सहभागी गराएपछि उनीहरुलाई सौराहाको होटलमा बस्ने व्यवस्था गरिएको छ । उनीहरुको सम्मानमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रात्रिभोज आयोजना गर्ने छन् ।

त्यससँगै पाहुनाहरुकै सम्मानमा स्थानीय संस्कृतिका बारेमा जानकारी गराउन केही सांस्कृतिक कार्यक्रमको आयोजना तथा उनीहरुलाई सौराहामा दृष्यावलोकन र जंगल सफारीको पनि योजना बनाइरहेको जनाइएको छ ।

विधान महाधिवेशन कसरी सम्पन्न भयो भन्ने जानकारीका लागि जानकारीमूलक ‘न्यू–एरा न्यू बुलेटिन’ प्रकाशन गरेर पनि उनीहरुलाई वितरण गरिने छ ।

Share This:
सम्बन्धित खबर
Loading...