पार्टी अध्यक्षमा ओली नै सर्वसम्मत : शेरबहादुर तामाङ

300

काठमाडौँ । नेकपा (एमाले) कार्यालय सचिव तथा पूर्वमन्त्री शेरबहादुर तामाङले पार्टीको १०औँ महाधिवेशनबाट वर्तमान अध्यक्ष केपी शर्मा ओली नै सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुने बताएका छन् । “हामी केपी शर्मा ओलीको नेतृत्वमा नै एमालेलाई अघि बढाउँछौँ । पार्टी अध्यक्षमा उहाँ नै सर्वसम्मत हुने हो । त्यही मनोविज्ञानले हामीले काम गर्छौँ,” उनले भने ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अध्यक्ष ओलीकै नेतृत्वमा अब एमाले एक ढिक्का भएर अघि बढ्ने बताए । उनले भने,“अहिले हामी केपी ओलीकै अगुवाइमा अघि बढ्छौँ । एमालेभित्रको गुट र सबैखाले समस्या समाधान गर्ने प्रयत्न गरेका छौँ । तल्लो तहदेखि उच्च तहसम्म सहमतिको वातावरण छ । म सुरक्षित छु भन्ने भावना सबैमा विकास भएको छ । महाधिवेशनपछि पार्टी सदस्यताको आह्वान गर्दैछौँ । अहिले हाम्रो पार्टी सदस्यता ९ लाख प्लस छ । महाधिवेशनलगत्तै १५ लाख बनाउँछौँ । हामी एकताबद्ध रुपमा आगामी चुनावमा अघि बढ्छौँ ।

उनले १०औँ महाधिवेशनमा सर्वसम्मत रुपमा पदाधिकारी चयन गरिने वातावरण बनेको पनि बताए । तर, सहमति नभए चुनावका लागि पनि तयारी अवस्थामा रहेको भनाइ छ । उनले भने,“हामी सर्वसम्मत रुपमा पदाधिकारी चयन गर्ने प्रयत्नमा छौँ । अहिले महाधिवेशनको कुरा गर्दा पनि सबैजना पालिकादेखि केन्द्रसम्म सर्वसम्मत प्रक्रियाबाट आएका छौँ । हामी उम्मेदवार हुन पाइँदैन भन्दैनौँ । उम्मेदवारी घोषणा गर्ने अवसर पनि दिइन्छ । उम्मेदवारी बीचमा सहमतिको प्रयास गर्ने हो । प्रक्रिया सबै अपनाइन्छ । सम्पूर्ण तयारी छ ।”

उनले महाधिवेशनमा बजेटको हिसाबले साढे ७ करोड लाग्ने अनुमान गरिएको बताए । आम नेता कार्यकर्ताले उत्साहपूर्वक पार्टी कोषमा पैसा जम्म गरिरहेको र यो चार–पाँच दिनको अवधिमा करिब २५ लाख जम्म भइसकेको पनि उनको भनाइ थियो ।

तामाङले आफ्नो पार्टीमा कालापानी, लिपुलेक र लिम्पियाधुराको जिल्लाबाट पनि महाधिवेशनमा प्रतिनिधित्व रहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...