हामीले पठाएका मन्त्रीले गलत काम गरे फिर्ता बोलाउँछौँ : नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएको बताएका छन् ।
राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालद्वारा भक्तपुरको मध्यपुर थिमिको बोडेमा आयोजित दुईदिने राष्ट्रिय भेलाको आज अन्तिम दिनको कार्यक्रममा उनले आफ्ना मन्त्रीहरुलाई भ्रष्टाचारबाट मुक्त भएर काम गर्न निर्देशन दिएको र गलत गरे कारबाही गर्ने जानकारी दिएको बताएका हुन् ।
उनले सरकारमा रहेका आफ्ना मन्त्रीले कुनै पनि गलत काम गरेमा कारबाही गरेर फिर्ता बोलाइने बताउँदै शिक्षा र स्वास्थ्यमा ज्याँदै मुनाफा हुनेगरी निजीकरण गरिएकाले सरकारले त्यसलाई निरुत्साहित गरी जनताको सेवामुखी भएर काम गर्नुपर्नेमा जोड दिए ।
“स्वास्थ्य क्षेत्रमा भएका गलत कामलाई सुधार्न र विगतदेखि समस्य झेल्दै आएका कर्मचारीको समस्या समाधान गर्न स्वास्थ्यमन्त्री प्रतिबद्ध भएर काममा लागेको छ,” उनले भने,“स्वास्थ्य क्षेत्रमा भएका गलत कामकारबाही अब रोकिन्छ ।”
अध्यक्ष नेपालले नेकपा (एमाले)मा रहने सच्चा कम्युनिस्टलाई ढोका बन्द गरेपछि बाहिर आउनुपरेको बताए । उनले भने,“हामीहरुलाई एमालेमा बस्न ढोका बन्द गरेपछि सन्यास लिने कि आत्मसमर्पण गरेर केपी ओलीको टाङमुनी छिरेर बस्ने भन्नुभयो, त्यसलाई अस्वीकार गर्यौँ र बाध्य भएर नयाँ पार्टी गठन गर्यौँ ।”