सहकारी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने छु : मन्त्री श्रेष्ठ

163

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रलाई मुलुकको समृद्धिको आधारको रुपमा विकास गर्न मन्त्रालयले भिजन पेपरको तयारीको कार्य अघि बढाएको जानकारी दिएकी छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)को ३०औँ साधारण सभाको शुक्रबार काठमाडौँमा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सहकारी क्षेत्रलाई मर्यादित, दीगो र विश्वसनीय बनाउनु पर्ने आवश्यकता औल्याउँदै समग्र विकासका लक्ष्यहरु प्राप्त गर्न सहकारी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आफू प्रतिबद्ध रहेको बताइन् ।

मन्त्री श्रेष्ठले अर्थतन्त्रको तीन खम्बे नीतिमा सहकारी क्षेत्र अर्थतन्त्रको अत्यन्त महत्वपूर्ण तथा संवेदनशील क्षेत्र भएकाले सामाजिक सशक्तिकरण मार्फत गरिबी न्यूनिकरणको राष्ट्रिय लक्ष्यमा बचत तथा ऋण सहारी संस्थाहरुको योगदान महत्वपूण रहने विश्वास समेत व्यक्त गरिन् ।

मन्त्री श्रेष्ठले राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ गर्ने, छरिएर रहेको श्रम, सीप, पुँजी र प्रविधिलाई एकिकृत गर्ने, बृहत् सञ्जालीकरण मार्फत समग्र उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जनाद्वारा उद्यमशीलताको प्रवर्द्धन गरी स्वाधिन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा बचत तथा ऋण सहारी संस्थाहरुको महत्वपूर्ण भूमिका रहनेमा जोड दिइन् ।

सहकारी र बैंकबीच कानुनी, प्रशासनीक तथा सैद्धान्तिक रुपमानै अन्तर रहेकाले वचत तथा ऋण सहकारी तथा बहुउद्देश्य सहकारीहरु सामूहिक सहकार्य, प्रजातान्त्रिक अभ्यासद्वारा सामूहिक गतिविधिबाट सञ्चालन हुनुपर्ने विश्वव्यापी मान्यता रहेतापनि नेपालमा साहुकारी मोडलमा सञ्चालन भएको विषय चिन्ताजनक रहेको भन्दै यसमा सुधार आवश्यक रहेको मन्त्री श्रेष्ठले औल्याए ।

उनले सहकारी आधारभूत मूल्य मान्यता र सिद्धान्तभन्दा बाहिर रहेर गरिएको केही क्रियाकलापका कारण नागरिकको विश्वास र भरोसा घटिरहेको वर्तमान सन्दर्भमा संस्थागत सुशासनको विषयमा पहल नलिने हो भने राज्यको नियन्त्रणबाट बाहिर जाने होकी भन्ने भइरहेकोले यस्तो अवस्था आउन नदिन सबै पक्ष लाग्नु पर्ने बताइन् ।

बचत तथा ऋण सहारी क्षेत्रमा नीतिगत कानुनी तथा व्यवहारिक समस्या छन् भने त्यसलाई हटाई साझा अवधारणा विकास गरी मन्त्रालय अघि बढ्न तयार रहेको पनि बताइन् ।

वचत तथा ऋण सहकारी संस्थाहरुलाई सिमान्तकृत समुदायमा विशेष कार्यक्रममार्फत् पहुँच स्थापित गर्न, वचत तथा ऋण सहकारी संस्थाहरुको एकीकरणमार्फत् बलियो संस्था बनाउन, कृषि, उत्पादनप्रति केन्द्रित गर्न र समग्र गुणस्तर कायम गर्न सवैको प्रयास आवश्यक रहेको बताइन् ।

मन्त्री श्रेष्ठले सहकारी संस्थाहरुको वित्तीय सुशासन कायम गर्न सहकारी विभागमार्फत् सञ्चालनमा ल्याइएको सहकारी सूचना प्रणालीमा निःसर्त आवद्ध हुने र सहकारी विभागमार्फत् जारी निर्देशिका, मापदण्डहरुको अक्षरशः पालना गर्न आग्रह समेत गरिन् ।

Share This:
सम्बन्धित खबर
Loading...