एमसीसीबारे एमालेले धारणा बनाएको छैन : ओली

245

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहुप्रतिक्षित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे आफ्नो दलले अझै स्पष्ट धारणा नबनाएको बताएका छन् ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको टोलीसँग शुक्रबार शिष्टाचार भेट गर्दै अध्यक्ष ओलीले सो कुरा बताए । सत्ता गठबन्धन दलले अझै एमसीसीबारे स्पष्ट धारणा बनाइ विपक्षी दललाई सहयोगको आग्रह नगरेकाले सोबारे धारणा नबनाएको उनले भेटका क्रममा स्पष्ट पारेको एमाले नेता डा.राजन भट्टराईले जानकारी दिए ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा अध्यक्ष ओलीले स्वास्थ्य, शिक्षा, विकास निर्माणका क्षेत्रमा अमेरिकी सरकारले गरेको सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद व्यक्त गरेको नेता भट्टराईले जानकारी दिए । सो क्रममा अध्यक्ष ओलीसँग अमेरिकी प्रतिनिधिहरुको शिष्टाचार भेट भएको र दुई पक्षीय सहयोगका लागि कुराकानी भएको बताए ।

भेटकका क्रममा अमेरिकी सहायक विदेशमन्त्री लुले नेपाललाई अमेरिकी सरकारको सहयोग निरन्तरता पाउने विश्वास दिलाए । आगामी दिनमा जलवायु परिवर्तन, कोभिड खोप, विकास निर्माण तथा जलवायु परिवर्तनमा आवश्यक सहयोग र सहकार्य गर्छौँ भेटका क्रममा लुले भनेको नेता भट्टराईले जानकारी दिए ।

करिब आधा घन्टासम्म भएको भेटका क्रममा एमालेको तर्फबाट नेताहरु सुवसचन्द्र नेम्वाङ, विष्णु रिमाल, डा.राजन भट्टराईलगायतको सहभागिता रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...