काठमाडौँ । सर्वोच्च अदालत परिसरमा आज पनि कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ ।
प्रहरीले धर्नास्थलमा कानुन व्यवसायीलाई रोक्न खोज्दा घम्साघम्सी भएको हो । अहिले सर्वोच्च परिसरमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ ।
बिहीबार पनि प्रदर्शनमा रहेको कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको थियो । प्रहरीले बल प्रयोग गर्दा केही कानुन व्यवसायी घाइते भएका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले गएको १४ कात्तिकदेखि विरोध प्रदर्शन गर्दै आएका छन् ।
बिहीबार राष्ट्रिय मानवअधिकार आयोगले नेपाल बार एसोसिएसनको अगुवाइमा भइरहेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो । यस्तै, हिजो सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्ने गरी नियमावली संशोधन गरेको थियो ।
प्रधानन्यायाधीश जबराबाहेकका १९ जना न्यायाधीशको आज बसेको बैठकले प्रधानन्यायाधीशले इजलास तोक्ने व्यवस्था परिवर्तन गर्दै गोलाप्रथा प्रणालीमार्फत इजलास तोक्ने प्रावधानसहितको नियमावली पारित गरेको हो ।