‘सरल र रोकावट बिना ठुला योजना सञ्चालन हुने नीति बनाउनुपर्छ’

210

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माण सहजीकरण कानुनमा ठुला योजनालाई सरल र रुकावटबिना सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । बुधबार मन्त्रालयमा भएको विकास निर्माण सहजीकरण कानुनसम्बन्धी छलफलमा यस्तो बताएका हुन् ।

मन्त्री शर्माले झन्झटिलो कानुन र विभिन्न किसिमका रोकावटले ठुला आयोजना रोकिँदै आएकाले अब त्यस्तो व्यवस्था हटाउनुपर्ने धारणा राखेका हुन् । “अख्तियार, कानून तथा अदालतलगायतले ठुला आयोजनाहरू नरोकिउन्,” मन्त्री शर्माले भने, “सरल र रोकावटबिना ठुला योजना सञ्चालन हुने नीति बनाउनुपर्छ ।”

उनले आर्थिक जीवनमा परिवर्तन ल्याउने योजना छनोट गरी तिनलाई कसैले रोक्न नसक्ने किसिमको कानुन तर्जुमा गर्नुपर्ने बताए ।

राजनीतिक प्रकृति र राजनीतिक आवश्यकताका आधारमा योजनालाई छुट्याउन आवश्यक रहेको बताए । कतिपय राजनीतिक प्रकृतिका योजनाका कारण खर्च हुन नसकेको भन्दै उनले आवश्यकताका आधारमा योजनाको छनोट गर्नुपर्नेमा धारणा राखे ।

उनले कानुन निर्माताहरूले विगतमा राम्रोसँग अध्ययन नगरीकनै कानुन पास गरिदिँदा पनि अहिले समस्या निम्तिएको जिकिर गरे । त्यसैले अब सुक्ष्म अध्ययन गरेर कानुन निर्माण गर्नुपर्ने उनको भनाइ थियो

यस्तै हरेक टेबल–टेबलमा आफ्नै किसिमको मनमौजीले विकास निर्माणका कार्यहरू रोकिने गरेको भन्दै त्यस्तो मानसिकता त्याग्नुपर्ने पनि मन्त्री शर्माले बताए ।

बैठक मुख्यसचिव शंकरदास बैरागी, अर्थसचिव मधुकुमार मरासिनी तथा विभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधिको सहभागितामा भएको थियो । बैठकमा वर्तमान खरिद कानुन, पुँजीगत खर्चको लक्ष्य प्राप्तिमा समस्या, निकायगत समन्वयको अवस्था तथा वित्तीय अनुशासनलगायतका विषयमा छलफल भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...