ओलीको टिप्पणी : कांग्रेस प्रचण्डपथमा लागिसक्यो

324

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टी पहिलेजस्तो नरहेको टिप्पणी गरेका छन् ।

अहिलेको कांग्रेस नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जे भन्यो त्यही मान्ने भइसकेको ओलीले टिप्पणी गरे ।

बुधबार बाँकेको नेपालगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेसलाई आफ्नो पार्टी (एमाले)सँग एक्लै लड्न पनि चुनौती दिए ।

“कांग्रेस त प्रचण्डपथमा लागिसक्यो । बिपी, गणेशमान, कृष्ण भट्टराईको कांग्रेस कहाँ छ, प्रचण्डले जे भने कांग्रेस त त्यही बाटोमा हिँडिसक्यो,” ओलीले भने,“कांग्रेस कहाँ पुग्यो ? चुनावसम्मै कायम रहन्छ भनिरहेका छन् ।”

ओलीले कांग्रेस बुढो भइसकेको टिप्पणी गरे । “कसैसँग दम छ ? पुरानो नेपाली कांग्रेसलाई सोध्न चाहन्छौँ एक्लै लड्ने दम छ ? हिजोको कांग्रेस होइन अब बुढो भइसक्यो । अरुसँग तालमेल मिलाउँदा मिलाउँदै कहाँ पुग्ने हो थाहा छैन,” उनले भने ।

ओलीले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएर विश्वसामु पहिचान बनाएको दाबी गरे । “नेपाल तीव्र ढंगले विकास गर्ने विश्वका १० देशको सूचीमा परेको थियो,” उनले भने,“तर, हामीले गरेको विकास विरोधी गठबन्धनलाई मन परेन ।”

नेपालमा आफ्नो सरकारले विद्युत् उत्पादन बढाएकाले अहिलेको सरकारले विद्युत् खपत बढाउन आग्रह गर्न थालेको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...