यही संसद्‌मा संख्या पुर्‍याएर फेरि सरकारमा आउँछौँ : हिक्मत कार्की

350

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले समयक्रममा संसद्‌मा बहुमत पुर्‍याउने दाबी गरेको छ ।

प्रदेश सांसद् तथा केन्द्रीय सदस्य हिक्मतकुमार कार्कीले प्रदेशसभामा संघदेखि प्रदेशमा सरकार बनाउन संख्या पुर्‍याउने दाबी गरे ।

बुधबार मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिनका लागि बोलाइएको संसद् बैठकमा उनले भने,“प्रदेशसभामा तपाईंहरुकै हाराहारी सांसद् एमालेसँग छ । समयक्रममा सरकारका लागि संख्या पुर्‍याउँला संघदेखि प्रदेशमा ।”

उनले सत्ता गठबन्धन राजनीतिक सहमति र सहकार्य गर्ने विषयमा प्रारम्भमै चुकेको बताए । एमाले जस्तो प्रमुख पार्टीलाई भुलेर एकलौटी ढंगले चल्न खोजेको आरोप लगाए । उनले सत्ता गठबन्धनको सरकारले मंसिर १८ गतेसम्म विश्वासको मत लिन सक्ने भएपनि यति छिटै विश्वासको मत लिन किन हतारिएको भनी प्रश्न गरे ।

“गठबन्धन जोगाउन, होटल खर्च जोगाउन र सांसद्लाई अड्काउन गाह्रो भएको हो की ? यो कुरा हामी राम्रोसँग बुझ्छौँ,” कार्कीको टिप्पणी छ ।

उनले ४० सिट भएको प्रदेशसभामा ६ सिट भएका पार्टीको नेतृत्वमा सरकार बनेको भन्दै यस्तो विडम्बनाको अन्त्य गर्नुपर्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...