निजी क्षेत्रलाई पनि विद्युत व्यापारको अनुमति दिन सरकार तयार : ऊर्जामन्त्री भुसाल

284

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले देशभित्रै बिजुलीको खपतका लागि कार्ययोजना नै बनाएर अघि बढेको बताएकी छन् ।

मंगलबार ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)को १९ र २०औँ साधारसभामा बोल्दै मन्त्री भुसालले सोलारमा राज्यको नीतिका विषयमा छलफल आवश्यक रहेको भन्दै विद्युत व्यापारमा उठेका विषयलाई पनि सम्बोधन गर्न तयार रहेको बताइन् ।

अहिलेसम्म नेपाल विद्युत् प्राधिकरणले मात्र गरिरहेको विद्युत् व्यापार निजी क्षेत्रले पनि पाउने गरी माग आइरहेकाले त्यसतर्फ सरकार सकरात्मक भएको उनले बताइन् । यस्तै उनले निजी क्षेत्रलाई विद्युत् व्यापार गर्नसक्ने विश्वासिलो आधारसहित आउनको निम्तिसमेत आग्रह गरिन् ।

“अहिले नेपाल विद्युत् प्राधिकरणले मात्र गरिरहेको विद्युत् व्यापार निजी क्षेत्रले पनि गर्न पाउनुपर्ने कुराहरु उठिरहेको छ । यस सम्बन्धमा मैले अस्तिमात्र इपानका प्रतिनिधिहरुसँगको भेटमा भनेको थिएँ,” उनले भनिन्,“विद्यमान ऐन, कानुनमा यस सम्बन्धमा केही प्रावधानहरु नभएको भए पनि यदि निजी क्षेत्रले हामी यो परिमाणको विद्युत् यसरी बिक्री गर्न सक्छौँ भन्ने आधारसहित संस्थागत अथवा व्यक्तिगत आउनुहुन्छ भने पनि हामी अनुमति दिन तयार छौँ ।”

यस्तै, मन्त्री भुसालले नेपालमा विद्युत् उत्पादनको तुलनामा विद्युतको माग र खपत बढ्न नसकेको कारणले उत्पादित विद्युत् खेर गइरहेको बताइन् । विद्युत् खेर जाँदा निजी क्षेत्र, लगानी गर्ने बैंक र राज्यले नै क्षति बेहोर्नुपरेको उनको भनाइ छ ।

इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले १० वर्षमा १५ हजार मेगावाट उत्पादनको लक्ष्य पूरा गर्न आफूहरु तयार भएको भन्दै यसका लागि राज्यले उचित नीति बनाउनुपर्ने धारणा राखे । आन्तरिक खपतका साथै व्यापारका लागि पनि राज्यले सम्बोधन गर्नुपर्ने उनाको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...