नेपाल बन्द : विप्लव समूहका ३५ जना नेता कार्यकर्ता पक्राउ

95

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा उत्रिएका नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

बन्द गराउन सडकमा उत्रेका विप्लव समूहका ३५ जना कार्यकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ । देशभर बन्द आह्वान गरेको विप्लव समूहका कार्यकर्ताहरु सवारी साधन रोक्न सडकमा उत्रिएका छन् । विभिन्न जिल्लाका फरक–फरक स्थानबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जसमध्ये काठमाडौँमा ६ जना, पोखरामा ७ जना, चितवनमा ११ जना र तनहुँमा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँमा साँखु र महाराजगञ्जबाट ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

त्यस्तै, प्रहरीले पोखरामा ७ जनालाई पक्राउ गरेको छ । बन्द गराउँदै हिँडेका नेकपा कास्कीका जिल्ला सदस्य एवम् कार्यालय सचिव काजी गुरुङ, अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराज थापासहित ७ जनालाई छोरेपाटनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । तर, नेकपाले भने दुईजना मात्र पक्राउ परेको जनाएको छ ।

नेपाल बन्द गराउँदै हिँडेका विप्लव समूहका कार्यकर्तालाई चितवनमा सवारी रोक्ने क्रममा ११ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा विप्लव नेकपाका जिल्ला अध्यक्ष सन्देश पौडेललगायत नेता कार्यकर्ता रहेका छन् ।

त्यस्तै, तनहुँको दमौलीबाट पनि ११ जना विप्लव समूहका कार्यकर्ता पक्राउ परेका छन् ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरुद्ध मंगलबार सो समूहले नेपाल बन्दको आयोजना गरेको हो । उपत्यकामा बन्दको खासै प्रभाव नदेखिए पनि जिल्ला बाहिर भने प्रभाव बढी देखिएको छ । बन्द आह्वानका कारण निजी सवारी साधन छिटफुट रुपमा चलेपनि सार्वजनिक सवारी साधन ठप्प छन् ।

Share This:
सम्बन्धित खबर
Loading...