काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले स्व.प्रकाश दाहाल निडर र जुझारु स्वभावको व्यक्ति भएको बताएका छन् ।
आफूले निकै नजिकबाट दाहालको जुझारुपन महसुस गरेको बताउँदै मन्त्री गहतराजले खेल क्षेत्र र खेलाडीहरुमा पनि त्यसप्रकारको जुझारुपन आवश्यक रहेको बताए ।
स्व.प्रकाश दाहालको स्मृतिमा आयोजित दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मन्त्री गहतराले दाहालको व्यक्तित्वबाट आफू निकै प्रभावित भएको उल्लेख गरे । सामाजिक रुपान्तरणको मोर्चा हुँदै सगरमाथाको सफल आरोहणसम्मको चरणमा दाहालले ठुलो सामर्थ देखाएको स्मरण गर्दै मन्त्री गहतराले नेपाली खेलक्षेत्रको विकासमा दाहालको भूमिकाको खुलेर प्रशंसा गरे ।
दाहालको व्यक्तित्वसँग मिल्ने खालको खेल सञ्चालन गरेको प्रति खुसी व्यक्त गर्दै मन्त्री गहतराजले भने, “बक्सिङ बहादुरहरुको खेल हो, स्व.प्रकाश दाहाल पनि निकै बहादुर थिए ।”
फरक प्रसंगमा बोल्दै मन्त्री गहतराजले समग्र खेलक्षेत्रको विकासकालागि आफू चिन्तित रहेको बताए । खेल क्षेत्रको विकासमा अवरोध पुर्याउने छुट कसैलाई नरहेको उल्लेख गर्दै त्यसखालको प्रवृत्तिलाई हटाउँदै अगाडि बढ्न आफू प्रतिबद्ध रहेको समेत मन्त्री गहतराजले स्पष्ट पारे ।
नेपाल बक्सिङ संघको आयोजनामा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषदमा आगामी मंसिर ३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ ।