काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई अदालतमा भइरहेको विरोध प्रदर्शनमा दमन नगर्न निर्देशन दिएका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री खाणलाई बोलाएर देउवाले नेपाल बार एसोसिएसनले गरिरहेको प्रदर्शनमा ‘अनावश्यक दमन’ नगर्न निर्देशन दिएको प्रधानमन्त्री स्रोतले जनाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै बारले सर्वोच्च परिसरमा केही दिनदेखि प्रदर्शन गर्दै आएको छ । बिहीबार प्रदर्शनका क्रममा अधिवक्ता र प्रहरीबीच घम्साघम्सीसमेत भएको थियो । बारले प्रधानन्यायाधीशको ठाडो आदेशमा दमन भएको आरोप लगाएको छ ।
शुक्रबार पनि प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेश गर्न नदिने भन्दै बारले सर्वोच्च अदालतको मूल गेट बाहिर प्रदर्शन गरेको थियो । यद्यपि, प्रधानन्यायाधीश जबरा अर्को ढोकाबाट प्रवेश गरेका थिए ।
जबराको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल बारले सर्वोच्च प्रवेशमा रोक्न आइतबार पनि धर्ना दिने जनाएको छ ।