पौडेलले बोलाएको बैठकमा प्रकाशमान नजाने

392

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको गुटगत छलफलमा नेता प्रकाशमान सिंह सहभागी नहुने भएका छन् । पौडेलले बैठक दिउँसो २ बजे बसुन्धरामा डाकेका छन् ।

पौडेलले आइतबार बस्ने केन्द्रीय समितिको बैठक र आसन्न १४औँ महाधिवेशनको तयारीका विषयमा छलफल गर्न शुक्रबार दिउँसो आफूपक्षीय नेताहरुको अनौपचारिक बैठक बोलाएका छन् । तर, सिंह त्यो बैठकमा नजाने उनका प्रेस संयोजक युपी लामिछानेले जानकारी दिए ।

सिंह सभापतिमा दाबी गर्ने मध्येका एक नेता हुन् । सभापतिमा दाबी गर्ने सोही समूहका डा.शशांक कोइराला र डा.शेखर कोइराला भने बैठकमा उपस्थित हुने बताइएको छ ।

पछिल्लो समय सिंहले पौडेल संयोजकत्वमा गठन भएको उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन भएको विषयमा प्रश्न उठाएका थिए । आफू संयोजक बन्ने भएपछि पौडेलले कुनै छलफल नै नगरी समिति गठनमा सहमति दिएको सिंहको भनाइ छ ।

१४औँ महाधिवेशनमा साझा उम्मेदवार बनाएर उम्मेदवारी दिने प्रयास भइरहेका बेला सिंहले असन्तुष्टि देखाएपछि अब पौडेल समूहबाट एउटै उम्मेदवार बन्ने सम्भावना कमजोर बनेको छ ।

कांग्रेसको १४औँ महाधिवेशन आगामी मंसिर २४–२६ गतेसम्म गर्ने कार्यतालिका छ । त्यसैको तयारीका सन्दर्भमा सभापति शेरबहादुर देउवाले आइतबार केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...