प्रचण्डका कारण बहुमतको सरकार जोगाउन सकेनौँ : गोकर्ण विष्ट

269

काठमाडौँ । नेकपा (एमाले)का सचिव एवम् पूर्वमन्त्री गोकर्ण विष्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का कारण एमालेले बहुमतको सरकार जोगाउन नसकेको आरोप लगाएका छन् ।

नेकपा एमाले सूर्यविनायक नगरपालिका–छ कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमालेले समय आएपछि त्यसको समीक्षा गर्ने बताए । उनले भने,“एमालेलाई धमिलो बनाउने र त्यो पार्टीको आन्तरिक जीवनलाई अस्तव्यस्त बनाउने काममा प्रचण्डलगायतका व्यक्तिसँगको एकता र प्रवेशले हामीलाई कहीँ न कहीँ समस्य पैदा गर्यो, जसका कारण बहुमतको सरकार जोगाउन सकेनौँ ।”

पार्टी एकताको तीन वर्षको अवधिमा कम्युनिस्टभित्र धेरै उतारचढाव पार गर्दै एमाले अहिलेको ठाउँमा आइपुग्यो भन्दै उनले समयमा एमालेको जीवनमा केही तिक्तताको सामना गर्नुपरेको, केही अत्यन्त बेठिक र नमिठा अनुभूतिको सामना गर्नुपरेकाले अब विगतबाट पाठ सिक्दै एमालेलाई एकताबद्ध गर्दै अझै माथि उठ्नुपर्ने भनाइ राखे।

“आज म उद्घोष गर्न चाहन्छु, केपी ओलीले नेतृत्व गरेको नेकपा एमाले पार्टीमा अब कुनै पनि प्रकारको प्यानल रहेन, कुनै गुट उपगुट रहेन, यो पार्टी सांगठानिक हिसावले एकताबद्ध छ, यो पार्टीमा अब कुनै पनि प्रकारको गुटगत मनोविज्ञान छैन, १०औँ महाधिवेशनले यो पार्टीलाई थप एकताबद्ध बनाउँदै अगाडि लैजाने छ,” विष्टले भने ।

एक्लै चुनाव लड्ने आँट नभएर गठबन्धनको मन्त्र जपेको भन्दै विष्टले भने,“यो मुलुकमा नेकपा एमालेसँग एक्ला एक्लै निर्वाचनको मैदानमा प्रतिस्पर्धा गर्नसक्ने ताकत अब कुनै पार्टीसँग छैन, कुनै पार्टीले आँट गरेको छैन । त्यसैले बिहान उठेर मुख धुनु अगाडि राति सुत्नु अगाडि मात्रै होइन, सुतिरहेको बेलामा पनि झस्किएर गठबन्धन चुनावसम्म जान्छ भनेर सपनामा पनि बर्बराउन थालेका छन् ।”

Share This:
सम्बन्धित खबर
Loading...