एमाले महाधिवेशन : प्रत्येक सदस्यबाट १०० रुपैयाँ संकलन गर्ने

314

काठमाडौँ । नेकपा (एमाले)ले पार्टीको १०औँ महाविधेशनका लागि प्रत्येक सदस्यबाट कम्तिमा एक सय रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ ।

बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले महाधिवेशनलाई सम्पन्न गर्नका लागि प्रत्येक सदस्यबाट कम्तिमा एक सय रुपैयाँ संकलन गर्ने निर्णय गरेको एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिए ।

हाल पार्टीमा ७ लाख ३० हजार सदस्य रहेको र महाधिवेशनको खर्चका लागि खोलिएको खातामा सात करोडभन्दा बढी जम्मा हुने उनले बताए । बैठकमा महाधिवेशन उपसमितिहरुले पेस गरेको कार्ययोजनासहितको प्रतिवेदन पारित गरेको भट्टराईले बताए ।

महाधिवेशनको उद्घाटन मध्यान्ह १२ बजे चितवनको नारायणी नदी किनारमा अध्यक्ष केपी शर्मा ओलीले गर्ने र बन्द सत्र सौराहामा हुने एमालेले जनाएको छ । उद्घाटन सत्रमा चितवन र आसपासका जिल्लाबाट ५ लाख जनपरिचालन गर्ने योजना रहेको भट्टराईले जानकारी दिए । त्यसअघि कार्तिक २७ गते प्रतिनिधिको निर्वाचन गरेर १९ सय ९९ प्रतिनिधि छनौट गर्ने र ३० गतेभित्र प्रतिनिधिको नाम केन्द्रीय कार्यालयमा उपलब्ध गराउने उनले बताए ।

महाविधेशन अन्तर्गत १० गते हुने उद्घाटनसत्र पछि ११ गते नै निर्वाचन प्रक्रिया सुरु हुने तथा १२ गते निर्वाचनका लागि मतपरिणाम आउने सचिव भट्टराईले बताए । महाधिवेशनका लागि यसपटक पोष्टर नटास्ने, भित्तेलेखन नगर्ने र डिजिटल माध्यमबाट प्रचार प्रसार गर्ने एमालेले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...