काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४औँ महाधिवेशन कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताएका छन् ।
नेता सिटौलाले कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउन काममा मिलेर अघि बढ्न पार्टी नेता, कार्यकर्तालाई आह्वान गरे ।
बुधबार काठमाडौँस्थित शान्ति बाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिटौलाले पार्टी नेतृत्वका लागि स्वच्छ प्रतिस्पर्धा गर्न र पार्टीलाई सम्पूर्ण रुपमा एकताबद्ध बनाएर देशप्रति समर्पित भएर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई सफलता मिलोस् भनि कामना समेत गरे ।
“२७ गतेबाट बाँकी रहेका वडा अधिवेशनहरु सम्पन्न गरेर मंसिरको २७ गते पार्टीको केन्द्रीय पधाधिकारी हामीले निर्वाचित गर्नु छ । अत्यन्तै छोटो कार्यतालिका छ । अत्यन्तै साँघुरो हाम्रो कार्यतालिका छ । तर, एक दिन पनि यो कार्यतालिका परिवर्तन हुन सक्दैन,” सिटौलाले भने,“यसलाई हामीले सफल बनाउनु छ सबैले मिलेर । तर, प्रतिस्पर्धा गर्नु छ । स्वच्छ प्रतिस्पर्धा गर्नु छ । आन्तरिक लोकतन्त्रको अभ्यास दिल खोलेर गर्नु छ । र प्रतिस्पर्धापछि पार्टीभित्र सम्पूर्ण एकता निर्माण गरेर पनि देशप्रति समर्पित पार्टीको रुपमा नेपाली कांग्रेसलाई उतार्नु छ ।”
उनले महाधिवेशनमा प्रतिस्पर्धा गर्ने साथीहरुलाई सफलताको शुभकामना समेत दिए ।