देशमा विकासको लहर चलेपछि एमाले नेतृत्वको सरकार ढालियो : शेरधन राई

194

भोजपुर । नेकपा (एमाले)का नेता एवम् पूर्वमुख्यमन्त्री शेरधन राईले निर्वाचन पछि पुनः आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

एमाले आमचोक गाउँपालिकाको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै राईले एमालेले जनताको पक्षमा काम गरेको बताए । उनले विभिन्न षड्यन्त्रबाट एमाले नेतृत्वमा रहेको जनप्रिय सरकार ढालिएको जनाए ।

राईले आगामी निर्वाचनपछि देशमा एमालेको नेतृत्वमा सरकार बन्ने र त्यसले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को चाहना पूरा गर्ने बताए ।

“देश विकास भएको देख्न नसक्नेहरुले विभिन्न षड्यन्त्रबाट एमालेको नेतृत्वमा रहेको सरकार ढाले,” उनले भने,“अदालतमा भइरहेको अहिलेको क्रियाकलापले धेरै कुरा पुष्टि गरेको पनि छ ।” उनले देशमा विकासको लहर चलेको अवस्थामा एमाले सरकार ढाल्नु जनतालाई दुःख दिने नियत भएको जनाए ।

भोजपुरका दुई नगरपालिका र सात गाउँपालिकामध्ये आमचोक गाउँपालिका र षडानन्द नगरपालिकाको पालिका अधिवेशन हुन बाँकी छ । षडानन्दको अधिवेशन बिहीबार हुँदै छ ।

अधिवेशनले आमचोक गाउँपालिकाको अध्यक्षमा शुक्रदेव राईलाई चयन गरेको छ । उपाध्यक्षमा बसन्त राई, सचिवमा नेत्र खत्री, उपसचिवमा राजन विष्ट र नवीन राई चुनिएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...