पाँच दलीय गठबन्धन : राष्ट्रियसभा र उपनिर्वाचनमा मिलेर जाने सहमति

77

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनले आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

सोमबार बसेको गठबन्धनको बैठकले आगामी राष्ट्रियसभा निर्वाचन र उपनिर्वाचनसम्मलाई गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो । बैठकमा सहभागी नेताकाअनुसार सरकार रहुञ्जेल गठबन्धनलाई निरन्तरता दिने नेताहरुबीच सहमति भएको हो ।

बैठकले सरकार सञ्चालनमा सहयोग गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय पनि गरेको छ । सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन सत्ता गठबन्धनले संयन्त्र गठन गर्ने निर्णय गरेको हो ।

संयन्त्रमा गठबन्धनमा रहेका ५ वटा पार्टीबाट २–२ जना सदस्य रहनेछन् । मन्त्रिपरिषदबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि कार्यदलका सदस्य रहनेछन् । संयन्त्रको पदेन सदस्य नरहेपनि प्रधानमन्त्री भने कार्यदलको बैठकमा सहभागी हुने नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले बताए ।

पौडेलले दुई महिना संयन्त्रको नेतृत्व गर्नेछन् भने त्यसपछि आलोपालोमा गठबन्धनमा आबद्ध पार्टीले त्यसको नेतृत्व गर्नेछन् ।

राजनीतिक संयन्त्रमा नेपाली कांग्रेसको तर्फबाट पौडेल र कृष्णप्रसाद सिटौला, माओवादीबाट पुष्पकमल दाहाल‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)को तर्फबाट माधवकुमार नेपाल र नाम दिन बाँकी एक जना, जसपाको तर्फबाट उपेन्द्र यादव र नाम दिन बाँकी एक जना तथा राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहनेछन् ।

संयन्त्रलाई सरकारका कामकारबाहीमा समन्वय गर्ने, गठबन्धनबीच अन्तरविरोध भए निवारण गर्ने, राष्ट्रियसभा र उपनिर्वाचनको तालमेलबारे सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...