भरतपुर सबस्टेसनको मर्मत सकियो, दुईवटै ट्रान्सफर्मर सञ्चालनमा

311

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकास्थित बसेनीमा रहेको १३२/११ केभी भरतपुर सबस्टेसनमा रहेका दुईवटै पावर ट्रान्सफर्मरहरु सञ्चालनमा आएका छन् ।

नेपाल विद्युत प्राधिकरणले ट्रान्सफर्मरहरु पूर्ण रुपमा सञ्चालनमा आएपछि भरतपुर क्षेत्रमा रहेका उद्योगहरुलाई पनि आइतबार साँझदेखि विद्युत आपूर्ति दिएको छ ।

सबस्टेसनमा रहेका दुई ट्रान्सफर्महरुमध्ये एउटामा १३ र अर्कोमा १६ कात्तिकमा समस्या आएको थियो । प्राधिकरणले बिग्रिएको ट्रान्सफर्मरलाई हटाएर सबस्टेसनमा जगेडामा रहेको २२.५ एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरी बिहीबारदेखि घरायसी ग्राहकका लागि विद्युत आपूर्ति दिएको थियो । एउटा ट्रान्सफर्मर जडान गरी ३६ घण्टापछि विद्युत आपूर्ति सुरु गरिएको थियो ।

कास्कीको लेखनाथ सबस्टेसनमा रहेको २२.५ एमभिए क्षमताको ट्रान्सफर्मर ल्याई भरतपुर सबस्टेसनमा जडान गरी त्यसलाई पनि आइतबार साँझबाट सञ्चालनमा ल्याइएको हो ।

सबस्टेसनको क्षमता अब ४५ एमभिए रहेकाले औद्योगिकसहितका सबै ग्राहकलाई विद्युत आपूर्तिको कुनै समस्या नरहेको प्राधिकरणको वितरण तथा ग्राहक सेवा केन्द्र भरतपुरका प्रमुख राजीवकुमार सिंहले बताए ।

सिंहका अनुसार आँपटारीस्थित अर्को १३२/११ केभीको सबस्टेसनमा १५ एमभिए क्षमताको ट्रान्सफर्मर जडान सुरु गरिएको छ । उक्त सबस्टेसनबाट विद्युत आपूर्तिका लागि तीन वटा फिडर निकालिसकिएको छ ।

तिहारको समयमै भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहितको टोली मर्मत स्थलमा खटिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...