वरिष्ठ अधिवक्ता त्रिपाठी भन्छन्– जबरालाई एक मिनेट पनि प्रधानन्यायाधीशको कुर्सीमा बस्ने अधिकार छैन

322

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधान्यायाधीशले पेसी तोक्दा मुद्दा हेर्ने जिम्मेवारी दिनकै लागि गोलाप्रथालाई नजरअन्दाज गरेको आरोप लगाएका छन् ।

आज इजलास तोक्ने क्रममा प्रधानन्यायाधीशले गोलाप्रथा गरेका थिएनन् भने ७ वटा मुद्दा हेर्न ६ वटा इजलास तोके । यस्तै, प्रधानन्यायाधीशले आफूलाई समेत इजलास तोक्ने काम गरेका छन् । जुन न्यायाधीशहरुसँग भएको भनिएको सहमतिविपरीत भएको बताइएको छ ।

यही क्रममा प्रधान्यायाधीशको राजीनामा माग गर्दै भएको नेपाल बार एसोसिएसनको आन्दोलनका क्रममा अधिवक्ता त्रिपाठीले प्रधान्यायाधीशले सर्वोच्च अदालतमा ‘सेटिङ’ भन्ने शब्दलाई संस्थागत गरेको आरोप लगाए । सोहीअनुसार उनले पेसी तोक्ने क्रममा गोलाप्रथा नगरेको आरोप लगाए ।

बेन्च बस्न नसक्नु र इजलास बहिस्कार हुन सबैमा प्रधानन्यायाधीश दोषी रहेको उनको भनाइ थियो ।

जबराका कारणले नै आज न्यायालयले सम्मान गुमाएको बताउँदै उनी समस्यमा समाधान गर्ने नभइ निम्त्याउने व्यक्ति भएको बताए ।

“जनताको विश्वास न्यायपालिकामा समाप्त भएको छ । महासंकटको सामना गर्नु परिरहेको छ । आज नागरिकको अधिकार कुण्ठित भएको छ,” उनले भने,“उहाँ अहिले पनि त्याग गर्न तयार हुनु भइरहेको छैन । उहाँका सहकर्मीहरुनै आन्दोलनमा छन् । प्रधानन्यायाधीशको नेतृत्व असफल भइसकेको छ ।”

संवैधानिक प्रक्रियामा गएर महाअभियोगबाट हटाउने टाढाको कुरा भएको भन्दै उनले राणाले इजलास नै चलाउन नसक्ने स्थिति आइसकेकाले नेतृत्वमा बस्न नसुहाउने बताए ।

उनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशभरका अदालतमा आन्दोलन अढि बढ्ने बताए ।

“उहाँका कारण सिंगो न्यायापालिका नै धरामा पार्ने काम भएको छ । प्रधानन्यायाधीशकै कारणले आज न्यायपालिका संकट ग्रस्त छ । एक मिनेट पनि प्रधानन्यायाधीशको कुर्सीमा बस्ने अधिकार छैन,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...