काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालयमा झन्डै ४ महिनादेखि रौतहटका कांग्रेस नेता कार्यकर्ताको अनशन जारी छ ।
धाँधलीपूर्ण तरिकाले क्रियाशील सदस्यता सूची केन्द्रमा पठाइएको भन्दै रौतहटका कांग्रेसका नेता कार्यकर्ता पार्टी कार्यालय सानेपामा १०७ दिनदेखि अनशन बसेका हुन् ।
रौतहटका प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा क्रियाशील सदस्यता विवाद सुल्झिन नसक्दा आज शनिबार तिहारका दिन पनि १२ जना नेता कार्यकर्ताले अनशनलाई निरन्तरता दिएका हुन् ।
कांग्रेस रौतहटका कोषाध्यक्ष राम श्रेष्ठसहित महासमिति सदस्य डा.देवेन्द्र मिश्र, पूर्वस्वास्थ्यराज्यमन्त्री ब्रजकिशोर सिंहलगायत अनशन बसेका छन् । कांग्रेसको विधानसम्मत क्रियाशील सदस्यता वितरण हुनुपर्ने माग राख्दै विगत १०७ दिनदेखि उनीहरु अनशनरत छन् ।
क्रियाशील सदस्यता विवादकै कारण कांग्रेसले रसुवा र रौतहट जिल्लाको क्रियाशील सदस्यता नामावली अझै सार्वजनिक गरेको छैन ।