प्रकाशमान सिंहलाई मिश्रको तात्तातो जबाफः ‘३० वर्षमा केही गर्न नसक्ने तपाईंहरु, अनि दोष लगाउने हामीलाई ?’

275

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूविरुद्ध कटाक्ष गरेपछि विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले जबाफ फर्काएका छन् ।

नेपाल सम्वत्‌को नयाँ वर्ष ११४२ सुरु भएको अवसरमा शुक्रबार बिहान काठमाडौँको बुद्धनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कांग्रेस नेता सिंहले आफू र आफ्नो पार्टीको आलोचना गरेलगत्तै विवेकशील साझाका अध्यक्ष मिश्रले सामाजिक सञ्जालमार्फत खण्डन गरेका हुन् ।

कार्यक्रममा कांग्रेस नेता सिंहले भनेका थिए, “मेरो निर्वाचन क्षेत्रलाई एलिटहरु बस्ने ठाउँ भन्छन् । पढेलेखेका मतदाता छन् । चुनावका बेला नयाँ–नयाँ पार्टीहरु आउँछन् । काम केही गरेको हुँदैन तर नयाँ र आकर्षक नारा दिएर मतदाता प्रभावित हुने अवस्था छ । पार्टी सानो छ, तर पटक–पटक विभाजित भएको छ । आफ्नै पार्टी जोगाउन नसक्ने तर ठुला कुरा गर्नेहरुको पर्दाफास भएको छ ।”

यसविरुद्ध अध्यक्ष मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्,“ तपाईंहरूले गत ३० वर्षमा काम गर्न सकेको भए हामी राजनीतिमा आउनु नै पर्ने थिएन । ३० वर्षमा केही गर्न नसक्ने, देशको राजनीतिदेखि, पुलिस, प्रशासन, विश्वविद्यालय, न्यायलय, समाज सबै विगार्ने तपाईंहरू, अनि दोष लगाउने हामीलाई ?”

मिश्रले अगाडि लेखेका छन्,“हाम्रा ३ जना सांसद्ले बागमती प्रदेशसभामा गरेको कामको अत्यन्तै राम्रो प्रशंसा भएको छ । अन्यत्र काम गरेर देखाउन हामीलाई अहिलेसम्म जन अनुमोदन प्राप्त भएको छैन । जन अनुमोदन प्राप्त भएपछि पनि काम गर्न सकेनौँ भने अनि भन्नुहोलः नारामात्र दिएर हुँदैन !”

केही दिनअघि मात्र विवेकशील साझा पार्टी फुटेको छ । मिश्र पक्षले दिएको निवेदनका आधारमा निर्वाचन आयोगले विवेकशील साझा पर्टीको आधिकारिकता यही पक्षलाई प्रदान गरेको छ । संयोजक मिलन पाण्डे पक्षले भने आयोगले गलत निर्णय गरेको दाबी गर्दै यसविरुद्ध अदालतसम्म पुग्ने चेतावनी दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...