प्रतिगमनको खतरा नटरेसम्म गठबन्धन कायम रहन्छ : ऊर्जामन्त्री भुसाल

113

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले प्रतिगमनको खतरा रहँदासम्म वर्तमान पाँच दलीय गठबन्धन कायम रहने बताएकी छन् ।

राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेर गठबन्धनको सरकार बनेको बताउँदै उनले भनिन्,“जनताको आकांक्षालाई सम्बोधन गर्न र उपलब्धि रक्षा गर्न गठबन्धन बनेको हो ।”

ललितपुरको ठेचेमा बिहीबार आयोजित नवदुर्गा भवानीदेवी मन्दिर उद्घाटन तथा गोदावरी नगरपालिकाद्वारा स्थापित अक्षयकोष रकम सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा मन्त्री भुसालले गठबन्धन सरकारले जनताको चाहनाभन्दा बाहिर गएर कुनै पनि काम नगर्ने स्पष्ट पारिन् ।

आफू निर्वाचनमा जाँदा कला र संस्कृतिको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेअनुसार काम भएको बताउँदै उनले भनिन्,“हाम्रो ललितपुर, कला संस्कृति र सम्पदाले सम्पन्न छ, त्यसको संरक्षण र विकास गर्नुपर्छ, सोहीअनुसार काम भइरहेको छ ।”

विसं. २०७२ को भूकम्पले क्षति पुर्याएका मठमन्दिरहरु जनप्रतिनिधिको पहल र सहयोगमा निर्माण सम्पन्न हुँदै गएका बताउँदै मन्त्री भुसालले भनिन्,“बाँकी रहेका सम्पदा निर्माण चाँडै सम्पन्न हुनेछन् ।”

उनले कोभिडका कारण स्रोत र साधन अन्यत्र लैजानुपरेको तथा काम सम्पन्न गर्न ढिलाइ भएको जानकारी दिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...