न्यायिक क्षेत्रमा देखिएको विवादको समाधान न्यायालयबाटै हुनुपर्छ : जीवनराम श्रेष्ठ

116

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सचिव जीवनराम श्रेष्ठले न्यायिक क्षेत्रमा देखिएको विवादको समाधान न्यायालयबाट नै खोज्नुपर्ने बताएका छन् ।

पार्टीनिकट संगठन, काठमाडौँ महानगरपालिका–२३ वडाले दीपावली, नेपाल सम्वत्, छठलगायत पर्वका अवसरमा बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले न्यायिक आस्थाका धरोहरका रुपमा स्थापित न्यायालयबाट विवाद टुंगो लाग्न नसकेमा राजनीतिक प्रणालीमा नै असर पुग्ने बताए ।

पार्टीका संसदीय विभाग प्रमुखसमेत रहेका श्रेष्ठले एमालेले कम्युनिस्ट आदर्शलाई कायम राख्न नसकेकाले आफूहरुले विद्रोह गरी नयाँ दल स्थापना गर्नुपरेको उल्लेख गर्दै कम्युनिस्ट विचारमा आबद्ध तथा सामाजिक न्याय र समानताका पक्षमा रहेका सम्पूर्ण नागरिकलाई एकीकृत समाजवादीमा गोलबद्ध हुन आग्रह गरे ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्यमा समेत निर्वाचित भएका श्रेष्ठले मुलुकमा राजनीतिक स्थायित्व कायम राख्न गत निर्वाचनमा जनताले कम्युनिस्टहरुलाई विश्वास गरेर करिब दुई तिहाइ बहुमत दिएको स्मरण गर्दै तत्कालीन ओली सरकारले सत्ता बचाउनका लागि लोकतन्त्र र संविधानलाई नै धरापमा राखेर देश र जनतालाई धोका दिएको विचार व्यक्त गरे ।

Share This:
सम्बन्धित खबर
Loading...