प्रधानन्यायाधीशसहित पाँचैजना न्यायाधीशले राजीनामा दिनुपर्छ : शंकर पोखरेल

309

दाङ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित असार २८ मा परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् ।

न्यायालयमा प्रधानन्यायाधीश जबराले मात्रै गल्ती नगरेको जसरी व्याख्या हुनु गलत भएको बताउँदै उनले प्रधानन्यायाधीशसँगै पाँचै जनाको राजीनामा आउनुपर्ने बताए ।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री पोखरेलले गृह जिल्ला दाङको घोराहीमा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानन्यायाधीश जबराको मात्रै राजीनामा माग्नु उचित नहुने बताउँदै परमादेश जारी गर्ने सबै न्यायाधीशले पद त्यागे मात्रै समस्या समाधान हुने तर्क गरे ।

प्रधानन्यायाधीश जबराले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा भागबन्डा खोजेको भन्दै उनको राजीनामा माग्दै आन्दोलन चलिरहेको छ । जबराले निकास दिनुपर्ने भन्दै सर्वोच्चका उनीइतर न्यायाधीशहरु अहिले आन्दोलनमा छन् ।

बार एसोसिएसन पनि आन्दोलनमा रहेको अवस्थामा पोखरेलले परमादेश जारी गर्ने सबैले सर्वोच्चबाट बाहिरिनुपर्ने अडान राखे । एमालेले पाँचै जनाले राजीनामा दिए मात्रै निकास निस्कने अडान राखिरहेको छ ।

“सर्वोच्चका प्रधानन्यायाधीशसहित पाँचै न्यायाधीशको मिलेमतोमा असार २८ को फैसला भएको हो,” उनले भने,“यो प्रकरणमा प्रधानन्यायाधीशको मात्रै राजीनामा माग्नु सही होइन, पाँच जनाले राजीनामा दिनुपर्छ ।”

Share This:
सम्बन्धित खबर
Loading...