माओवादीले लिएको विचार र कार्यक्रममा फेरि आकर्षण बढिरहेको छ : प्रचण्ड

315

काठमाडौँ । नेकपा (मओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले माओवादीले लिएको विचार र कार्यक्रमका कारण फेरि माओवादीमाथि आकर्षण बढिरहेको बताएका छन् ।

काठमाडौँको कीर्तिपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । “अहिले पनि नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै रहेका छन् । हामीले राम्रो काम गरेर पनि जनतालाई माओवादीले बुझाउन नसकेको हो,” उनले भने ।

उनले माओवादी प्रतिक्रियावादीको दयाले यहाँसम्म आइपुगेको नभइ जनताले साथ दिएर अहिलेको अवस्थामा आएको बताए । उनले नेता लेलिनको भनाइ दोहोर्याउँदै भने, “कम्युनिस्टहरु परसम्म जाने सपना देख्छन् । त्यसकारण सपना देख्नु जायज हो ।” राम्रो सपना देखेर सपना पूरा गर्नका निम्ति संघर्ष गर्नु कम्युनिस्टहरुको चरित्र र विशेषता भएको बताए ।

“हामीले धेरै सपना देख्यौँ । जनयुद्ध, शान्ति प्रक्रिया, संविधान गणतन्त्र यी सबै हामीले सपना देखेर पूरा भएका हुन्,” उनले भने । आफूहरुले संविधानमा मतभेद राखेरै भएपनि जारी गरेको स्मरण गर्दै अनुकुल समयमा संविधान संशोधन गरेर जाने बताए ।

फरक प्रसंगमा उनले भने,“अहिले फेरि माओवादी र अझ मधेसमा माअ‍ोवादी प्रवेश गर्नेहरुको हजारौँ हजारको लहर देखिन थालेको छ ।” पार्टीमा उभार आउन अझै बाँकी रहेको बताउँदै उनले त्यसका लागि जनता कार्यकर्ता जाग्नुपर्ने बताए । अहिले पनि नीति, नेता कार्यक्रम र जनता माओवादीसँगै रहेको उनको भनाइ थियो । भूमिहीनलाई लालपुर्जा दिने काम कीर्तिपुरबाट सुरु गर्न सम्बन्धित मन्त्रीलाई आवश्यक सुझाव दिएको प्रचण्डले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...