एमाले महाधिवेशन : प्रतिनिधिलाई दुईथरी शुल्क निर्धारण

246

काठमाडौँ । नेकपा (एमाले)ले आगामी १०औँ महाधिवेशनमा प्रतिनिधित्व गर्नेहरुलाई दुईथरी शुल्क निर्धारण गरेको छ ।

पार्टीको १०औँ महाधिवेशनका विषयमा जानकारी दिन बुधबार केन्द्रीय प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा विभाग प्रमुख योगेश भट्टराईले शुल्कबारे जानकारी दिएका हुन् ।

एमाले सचिवसमेत रहेका भट्टराईले केन्द्रीय कमिटी र केन्द्रीय निकायबाट प्रतिनिधित्व गर्नेहरुलाई ३ हजार र तल निर्वाचित भएर आउनेहरुलाई २ हजार प्रतिनिधि शुल्क तोकिएको जानकारी दिए ।

“हामीले प्रतिनिधि शुल्क राखेका छौँ । स्वतः प्रतिनिधि हुने केन्द्रीय कमिटी र केन्द्रीय निकायबाट प्रतिनिधित्व गर्नेहरुलाई ३ हजार प्रतिनिधि शुल्क तोकिएको छ । तल निर्वाचित भएर आउनेहरुलाई २ हजार प्रतिनिधि शुल्क तोकिएको छ । यो स्रोतबाट नै हामीले महाधिवेशनलाई सम्पन्न गर्छौँ,” उनले भने ।

उनले यसपटक महाधिवेशनका लागि सार्वजनिक ढंगले चन्दा आह्वान नगरेको बताए । उनले स्वेच्छिक ढंगले आमपार्टी सदस्यहरुले स्थानीय तहको व्यवस्थापन गर्नुपर्ने बताए । “जस्तो, चितवनमा बुटवल, नेपालगञ्ज, झापा तथा काठमाडौँबाट गाडीहरु जान्छन् । यसको व्यवस्थापन सम्बन्धित तहको पार्टी कमिटीले गर्छ र त्यसका निम्ति पार्टी सदस्यहरुबाट स्वेच्छिक सहयोग आह्वान हुन्छ,” उनले भने ।

उनले एमालेका लागि यो पटक संगठित सदस्यता शुल्क र नवीकरण शुल्क खर्चको मुख्य स्रोत भएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...