काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली सरकारमा हुँदा भ्रष्टाचारले सीमा नाघेको बताएका छन् ।
पार्टीनिकट नेपाल समाजवादी इञ्जिनियरिङ एसोसिएसनको भेलामा बोल्दै उनले नेपालको सिस्टम नै भ्रष्टहरुको घेराबन्दीमा परेको बताएका छन् ।
“हाम्रो सिस्टममा जताततै अटेरी मान्छेहरु छन् । हाम्रो सिस्टम एकदमै भ्रष्ट भइसकेको छ,” नेपालले भने,“हाम्रो केपी ओलीजीको पालामा त भ्रष्टाचारले सीमा नै नाघेछ ।”
ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने भनेर दिएको अभिव्यक्ति पनि अर्थहीन भएको उनले बताए ।
“उहाँ हरेक पटक भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भन्नुहुन्थ्यो,” नेपालले भने,“तर, कस्ताको हातमा देश गएछ ।”
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमै करोडौँ खर्चिएर हेलिप्याड बनाएकोमा असन्तुष्टि जनाएका छन् । उनले त्यसका लागि करोडौँ रुपैयाँ खर्च गरिएको भन्दै विरोध जनाए ।
अध्यक्ष नेपालले राष्ट्रपति निवासमा पनि हेलिप्याड बनाउने कुरा भइरहेको आफूले सुनेको भन्दै त्यसप्रति पनि प्रश्न उठाए । “म त्यसको विरोधी हुँ । त्रिभुवन विमानस्थल जानुपर्छ, टाढा पनि छैन,” उनको भनाइ छ,“जनताको पसिनाबाट आएको एकएक पैसा सदुपयोग कसरी गर्ने भन्ने कुराको चिन्ता चासो छैन । त्यसैले पहिले चिन्ता हुनुपर्यो । मन पोल्नुपर्यो । देश बनाउने आँट र जाँगर हुनुपर्यो ।”
उनले आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डलाई पनि हाम्रो देश किन बनेन भनेर एजेन्डा बनाऔँ भनेको बताए । “कहाँ रहेको छ समस्या ? प्लानिङ हेर्नुस् न, अहिले पानी जहाज कम्पनी चाहिन्छ ? गफाडीको गफ,” उनले भने ।