काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनता समाजवादी पार्टी (जसपा)सँग एकताको प्रस्ताव गरेका छन् ।
सर्लाहीको सदरमुकाम गलंगवामा शनिबार आयोजित शिक्षक संगठनको कार्यक्रममा उनले छिट्टै पार्टी एकता गर्न प्रस्ताव गरेका हुन् ।
कार्यक्रममा आफूसँगै उपस्थित जसपाका नेता महेन्द्र राय रादवलाई सम्बोधन गर्दै उनले भने,“म महेन्द्रजीलाई पनि भन्छु पार्टी एकता गरौँ, ढुक्कै । क्षेत्रीय पार्टी बनाएर किन बस्ने ?”
जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई राम्रोसँग चिन्ने भन्दै प्रचण्डले भने,“गठबन्धन त हामीले गरेकै छौँ । अब पार्टी एकता गरौँ । ढिलो नगरौँ, तपाईंहरुलाई चाहिने अधिकार र सम्मान हामी दिन्छौँ ।”
प्रचण्डले पार्टी एकताको छिटो निर्णय गरेर जनकपुरमा घोषणा गर्नुपर्ने पनि बताए । “नडराइ पार्टी एउटै बनाऔँ, सिद्धियो । म जनकपुर आउँछु । जनकपुरमा घोषणा गरौँ,” उनले भने ।
प्रचण्डले मधेस माओवादीमय नभएसम्म मधेसी जनताले अधिकार नपाउने बताएका छन् । “जबसम्म मधेस माओवादीमय हुँदैन तबसम्म मधेसी जनताको वास्तविक अधिकार प्राप्त पनि हुनेछैन । विकास पनि हुनेछैन,” प्रचण्डले भने ।
प्रचण्डले अब मधेसी जनता झुक्किने दिन गएको भन्दै कुनै शक्तिले माओवादीलाई मधेससँग जोड्न रोक्ने नसक्ने पनि बताए ।