पाँच दलीय गठबन्धनमा विप्लव र मोहन वैद्यलाई पनि ल्याइन्छ : प्रचण्ड

306

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अहिलेको सत्तारुढ गठबन्धनमा नेत्रविक्रम चन्द‘विप्लव’ र मोहन वैद्यलाई पनि ल्याउने बताएका छन् । उनले अहिलेको गठबन्धनमा अन्यलाई पनि ल्याउन पहल भइरहेको बताए ।

शुक्रबार बिहान गृह जिल्ला चितवनको माडीमा आयोजित कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष प्रचण्डले भने,“अहिले एमालेविरुद्धको गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा सम्मिलित पाँच दलीय गठबन्धन छ । विप्लव र वैद्यसँग पनि गठबन्धनमा ल्याउन पहल भइरहेको छ ।”

उनले इमानदार कम्युनिस्टबीच एकताको झन्डा फहराउने दाबी गरे । प्रचण्डले भने, “आगामी निर्वाचनमा निरंकुश प्रवृति हाबी हुने ठाउँमा परास्त गर्ने गरी अगाडि बढ्नेछौँ ।”

उनले आगामी चुनावमा माओवादी, एकीकृत समाजवादी, जसपा र मोहनविक्रम सिंहबीच गठबन्धन गरेरै जाने आधार र प्रतिबद्धता बनिसकेको बताए ।

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) एकता गरी बनाइएको नेकपाकै कारण देशमा पहिलोपटक दुईतिहाइ बहुमत नजिकको कम्युनिस्ट सरकार बनेको तर ओलीले गर्दा त्यो भताुभंग भएको आरोप प्रचण्डले लगाए ।

“मैले नै राजनीतिक अस्थिरता यो देशले थेग्न सक्दैन अब स्थायित्व चाहिन्छ, समाजवाद उन्मुख विकासको एउटा मोडल हामीले दिनुपर्छ भनेर एकताको प्रस्ताव राखेको थिएँ,” प्रचण्डले भने,“पार्टीभित्र बैचारिक राजनीतिक सांगठानिक सत्ता नेतृत्व जस्ता असाध्यै संवेदनशील विषयमा एउटा सहमति बनाएर नेकपा निर्माण पनि गर्यौँ । यसबाट धेरै ठुलो अपेक्षा जनतामा थियो । तर, तीन वर्ष पुग्दानपुग्दै पार्टीभित्र एउटा यस्तो प्रवृत्ति देखापर्यो जुन नेपाली जनताले ७० वर्ष लडेर ल्याएको परिवर्तनलाई उल्ट्याउन खोज्ने प्रवृत्तिको रुपमा प्रकट भयो ।”

प्रचण्डले ओली प्रवृत्ति एउटा निरंकुश, एकाधिकारवादी, प्रतिगामी भएको बताए । ओली प्रवृत्तिविरुद्ध सडकमा जानुपर्ने अवस्था बनेको भन्दै प्रचण्डले देशलाई समृद्ध गर्ने सपना ओली प्रवृत्तिका कारण सम्भव नभएको बताए ।

“हामीले सपनाहरु जे देखेका थियौँ, कम्युनिस्ट आन्दोलनलाई बलियो बनाएर देशको नेतृत्व गर्ने भन्ने त्यो सपनालाई ओलीले प्रवृत्तिका कारण पूरा गर्न सम्भव भएन,” प्रचण्डले भने ।

Share This:
सम्बन्धित खबर
Loading...