काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने सोच नभएको बताएका छन् ।
मंगलबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले न्यायालय र यसको स्वतन्त्रतालाई कही कतैबाट आँच नआओस् भन्ने कुरामा आफूहरु सचेत रहेको बताए ।
न्यायालयभित्रको विवाद न्याय क्षेत्रबाट छिट्टै समाधान हुनेमा आफू विश्वस्त रहेको बताउँदै उनले हिजोमात्र भएको गठबन्धनका तीन पार्टीको बैठकमा महाअभियोग लगाउनेबारे छलफल नभएको स्पष्ट पारे ।
फरक प्रसंगमा प्रचण्डले नेकपा (एमाले)को १०औँ महाधिवेशन चितवनमा गर्नुलाई आफ्नो विजयी सुरुवातको रुपमा बुझ्नसमेत आग्रह गरे । “एमालेले मलाई कति धेरै महत्व दिँदो रहेछ भन्ने कुरा चितवनका जनताले राम्रैसँग बुझ्ने भए नि त !,” उनले भने ।