सरकारसँगको साँठगाँठकै कारण न्यायालय विवादमा पर्‍यो : प्रदीप ज्ञवाली

243

गुल्मी । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले सरकारसँगको साँठगाँठका कारण न्यायालय विवादमा परेको बताएका छन् ।

मंगलबार गुल्मीको रेसुंगा नगरपालिकामा एमालेको अधिवेशन उद्घाटन गर्दै उनले प्रधानन्यायाधीशको मागमा मन्त्री पद बाँड्नु लज्जास्पद भएको बताए ।

उनले जनताले वर्षौँदेखि न्याय मागिरहेका बेला सरकारसँग गठबन्धन गरेर न्यायालय बिटुलिएको बताए । कार्यपालिका र न्यायपालिकाबीच अपवित्र साँठगाँठ भएको पनि ज्ञवालीले बताए ।

पूर्वमन्त्री ज्ञवालीले पार्टीमा भएको विभाजनले नेकपा (एमाले)लाई कुनै असर नगरेको पनि बताए । पार्टीका केन्द्रीय कमिटीबाट २३ प्रतिशत र स्थानीय तहबाट ७ प्रतिशत मात्रै समाजवादीमा गएको जिकिर गर्दै ज्ञवालीले एमाले छोडेकाहरु पनि फर्कने क्रम सुरु भएको जिकिर गरे ।

त्यस्तै, उनले एमालेको भोट लगेर कांग्रेसलाई चढाउने माधव नेपालसहितका नेताको कारण पार्टीको आन्तरिक जीवनमा केही असहजता आएपछि आफूहरु प्रतिपक्षमा बसेर पनि जनताकै पक्षमा काम गरिरहेको बताए ।

उनले उच्चस्तरीय सम्झादारीसहितको सर्वसम्मत कमिटी चयन गर्न शुभकामना व्यक्त गरे । अहिले दल, अदालत, निर्वाचन आयोग र सभामुखजस्ता संस्थाबाटसमेत घेराबन्दीमा परेकाले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउन सर्वसम्मत कमिटी निर्माणसँगै संगठन गतिशील बनाउन, पार्टीका विचार र सिद्धान्त जनता माझमा पुर्‍याएर नागरिकसँगको सम्बन्ध थप सुदृढ बनाउन ज्ञवालीले नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

उनले आज नै मुसिकोट नगरकमिटीको अधिवेशन पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गुल्मीका १० गाउँकमिटी र २ नगरकमिटीको प्रथम अधिवेश एकैसाथ सुरु भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...