ओलीले भने– ‘भद्रगोललाई केही समय पाक्न दिनुपर्छ’

219

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले सर्वोच्च अदालतको नाममा राजनीति भइरहेको भन्दै प्रधानन्यायाधीशको विषयमा अहिले देखिएको विवाद कसैको पनि पक्षधरता नलिने बताएका छन् ।

विराटनगरस्थित होटल ह्यारिसनमा मंगलबार स्थानीय संवाददातासँग अध्यक्ष ओलीले मन्त्री गजेन्द्र हमाल प्रकरणपछि प्रधानन्यायाधीशको राजीनामाको माग सर्वत्र बढेका बेला ओलीले तटस्थ बस्ने सन्देश दिएका हुन् ।

उनले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ कि पर्दैन भन्ने कुरामा एमालेले पक्षधरता जनाउनुपर्ने कुनै कारण नभएको स्पष्ट पारे ।

“हामी स्वतन्त्र र निष्पक्ष न्यायालय चाहन्छौँ,” उनले भने,“हामीलाई कुनै अशोभनीय गुट वा दाउपेचमा फस्नु छैन । हामीले कुनै खिँचातानीमा भाग लिने पनि होइन ।”

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने कुनै कुरा छ कि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले अदालतभित्र भइरहेको दाउपेच र गुटबन्दीमा नफस्ने बताए । “अहिले जुन राजनीति सर्वोच्चको नाममा भइरहेको छ त्यस प्रकारको होइन । हाम्रो चिन्ता सर्वोच्च अदालतलाई जनताको विश्वास गर्ने, राज्यको एउटा विश्वसनीय र महत्वपूर्ण अंगको रुपमा राख्ने हो,” ओलीले भने,“हामीलाई दाउपेचमा पस्नु छैन, सर्वोच्च अदालतभित्रको अशोभनीय गुटबन्दीमा पस्नु छैन ।”

“राजीनामा दिनुपर्छ कि पर्दैन भन्ने त्यस विवादमा कतै पट्टी पक्षधरता एमालेले जनाउने होइन,” उनले भने,“हामीलाई त निष्पक्ष न्यायालय चाहिएको हो ।” उनले अदालत स्वतन्त्र रहनुपर्ने र संविधानअनुसार चल्नुपर्ने बताए ।

उनले संविधान, कानुन र प्रतिनिधिसभा नियमावली मिचेर सभामुखले काम गरिरहेको आरोप लगाउँदै सभामुखले एमालेविरोधीका रुपमा आफूलाई देखाइरहेको टिप्पणी गरे ।

ओलीले आफूले चाहेमा वर्तमान सरकार कुनै पनि बेला ढालिदिन सक्ने चेतावनी दिए र भने,“तर, भद्रगोललाई केही समय पाक्न दिनुपर्छ , उहाँहरु जे गर्दै हुनुहुन्छ, त्यो मुलुकका लागि घातक छ । यो कुरा रामचन्द्र पौडेलजी र प्रकाशमान सिंहजीले पनि भनिसक्नुभएको छ ।”

Share This:
सम्बन्धित खबर
Loading...