काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले जोगाइदिएको साखका कारण नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले संसद्मा फुर्ती देखाइरहेको दाबी गरेका छन् ।
शनिबार गृह जिल्ला झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड एमालेले जोगाइदिएको साखकै कारण संसद्मा फुर्ती देखाइरहेको बताएका हुन् ।
“अहिले प्रचण्डले जे फुर्ती लगाइरहेका छन् । त्यो हामीले जोगाइ दिएको हो,” उनले भने । ओलीले अब प्रचण्ड समानुपातिकमा बस्ने बताउँदै आउँला र खाउँला भनेर आशामा रहेको तर त्यो नहुने उनले दाबी गरे ।
उनले भने,“हामी फेरि चुनाव जित्छौँ । हामी देश बनाउन सक्छौँ । उहिले संस्दमा जे फुर्ती–फार्ती छ । त्यो हामीले गर्दा भएको हो । आगामी चुनावमा माधव नेपालले जितेर देखाउन्, प्रचण्ड चुनाव जितेर देखाउन् ।”
त्यस्तै उनले एमालेबाट गाएका अरु नेता कार्यकर्ता फर्किए स्थान दिने भन्दै माधव नेपाललाई अब एमालेले कुनै स्थान दिन नसकिने बताए । “माधव नेपाललाई अब एमालेले कुनै स्थान दिँदैन, उनी कम्युनिस्ट आन्दोलन विरोधी हुन्, गद्दार हुन्,” ओलीको आरोप छ ।
अध्यक्ष ओलीले माधव नेपाल अनुशासनहिन, अराजक भएको बताए । उनले नेता नेपाललाई बिग्रिएको आलुको संज्ञा दिँदै एक आलु बिग्रिए सबै आलु कुहिन सक्ने भएकाले एमाले उक्त खतराबाट जोगिएको बताए । माधव नेपाल एमालेबाट निस्किएर कुचोले बढार्नुपर्ने कसिांगार हावाले उडायो भनेजस्तै भएको ओलीले बताए ।
यसैगरी ओलीले आगामी चुनावमा माधव नेपाल र प्रचण्डलाई चुनाव जितेर देखाउन चुनौती समेत दिए । उनले आगामी निर्वाचनमा एमालेले बहुमतकासाथ चुनाव जित्ने दाबी गरे । “अब एमालेले चुनाव जित्न सक्छ । अरुले जित्न सक्दैनन् । देश बनाउने संकल्प र अठोट हामीसँग छ,” ओलीले थपे,“माधव नेपालको पछि लागेर अलमल परेका दुई चार साथी देखेर अचम्म लाग्छ । सबै देखिसकेपछि अझै किन पछि लागेको ?”
अध्यक्ष ओलीले सरकार र सत्तारुढ दलहरुलाई खराब काम गर्नेहरुको संज्ञा दिँदै बुझीबुझी एमालेको इर्ष्यका कारण देशलाई नै समाप्त पार्ने प्रयासमा लागेको बताए । “प्रतिक्रियावादीसँग साँठगाँठ गरिरहेका छन्, वामपन्थी सरकार ढाल्ने र दक्षिणपन्थी सरकार बनाउने गरेका छन्,” पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अहिलेको सरकारले केही गर्न नसक्ने दाबी गरे । “तीन महिनामा २५ जना मन्त्री भए, एउटा मन्त्री तीन दिनमै फुस्किए । प्रधानमन्त्री वातावरणसम्बन्धी बेलायत जाँदै हुनुहुन्छ तर राजदूत फिर्ता बोलाएका छन्, अरु कारण छैन । एमालेले नियुक्त गरेका कारण राजदूत फिर्ता गरेका हुन्,” ओलीको भनाइ छ ।