काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित भएकालाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गर्ने बताएका छन् ।
केहीदिन अगाडि अविरल वर्षासँगै आएको बाढीबाट पुगेको क्षतिको अवलोकनपछि सशस्त्र प्रहरी कल नेपाल १ नम्बर बराहा बाहिनी मुख्यालय सुनसरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वर्षासँगै आएको बाढी, पहिरोका कारण सुदूरपश्चिम र प्रदेश १ मा ठुलो जनधनको क्षति भएकाप्रति दुःख व्यक्त गरे । आफू काठमाडौँ फर्किनासाथ आवश्यक क्षतिपूर्तिका लागि निर्णय गर्ने उनको भनाइ थियो ।
अचानक आएको विपद्का कारण निकै क्षतिको सामना गर्नुपरेकाले यसबाट पीडित भएकाका लागि छिट्टै राहतको प्याकेज ल्याउने प्रधानमन्त्री देउवाले बताए ।
बाढीबाट अर्बौँ क्षति भएको जनाउँदै प्रधानमन्त्री देउवाले यसलाई निराकरण गर्न अल्पकालीन र दीर्घकालीन योजना बनाउनुपर्ने बताए ।
बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि बिहान विराटनगर पुगेका प्रधानमन्त्री देउवा आजै इलाम र पाँचथर पुगी क्षतिका विषयमा अवलोकन एवम् जानकारी लिने कार्यक्रम रहेको छ ।