काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘अर्ली इलेक्सन’ सम्भव नहुने बताएका छन् । शनिबार सुदूरपश्चिमको बाढी, पहिरो प्रभावित क्षेत्रको निरीक्षण तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्न धनगढी पुगेका पौडेलले यस्तो बताएका हुन् ।
संसद् पुनःस्थापनाको मुद्दामा कांग्रेस अघि बढेको हुनाले अर्ली इलेक्सनको पक्षमा हुनै नसक्ने पौडेलको जोड थियो । “हामी अर्ली इलेक्सनको पक्षमा छैन । यसबारे पार्टीमा छलफल पनि भएको छैन । हुनुपनि हुँदैन । संसद् पूरा कार्यकाल जानुपर्छ,” पौडेलले भने ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार ढाल्ने कुरा गरेकोप्रति उनले अचम्म व्यक्त गरे । ओेलीले सरकार ढाल्छ भनेको छ नि ? सञ्चारकर्मीको जिज्ञासामा पौडेलको जबाफ थियो,“सरकार ढालेर ढल्दैन ।”
बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेर शुक्रबार काठमाडौँ फर्किएका प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले अर्ली इलेक्सनबारे गठबन्धनका नेताहरुसँग परामर्श गर्ने प्रतिक्रिया दिएका थिए ।
पौडेलले अविरल वर्षापछि आएको बाढीले सुदूरपश्चिममा ठुलो जनधनको क्षति गरेकाले सरकारले तत्काल प्याकेजमै राहतका कार्यक्रम ल्याउनुपर्ने बताए ।