पाँच दलीय गठबन्धन प्रतिगामी हो : ओली

267

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई प्रतिगामीको संज्ञा दिएका छन् । शनिबार एमालेको देशैभरका वडा तहका अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

आफू नेतृत्वको सरकार महान् उद्देश्यका साथ अगाडि बढेको तर पाँच दलीय गठबन्धनले त्यसलाई हटाएको ओलीको अरोप थियो । “पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी गठबन्धन हो । कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने, कम्युनिस्ट सरकार ढाल्ने र कम्युनिस्ट आन्दोलनलाई प्रतिक्रियावादीका पाउँमा सेवा गर्ने,” उनको आक्रोश थियो ।

मुलुक दिशाहीन, जनविरोधी सरकार गठन भएको पनि ओलीको आरोप थियो । मुलुकका सम्मानित निकायलाई विवादास्पद बनाउन खोजिएको र सिंगो प्रणालीमाथि जनताको विश्वास कमजोर हुन जानेतर्फ उनले सचेत गराएका छन् ।

“प्रतिगामी शक्ति गठबन्धनका नाममा आइरहेको छ । भ्रम र द्विविधामा रहनुपर्दैन । यो देशलाई अस्थिरतामा धकेल्ने र अग्रगमन हुन नदिने काम हो,” उनले भने,“यो विपरीत बाटो हो । प्रतिगमनको बाटो हो । जनताको सार्वभौमसत्ताको अवव्याख्या गर्ने काम भइरहेको छ ।”

प्रतिक्रियावादीहरुको पाउँमा सेवा अर्पण गर्ने काम भएको भन्दै उनले कम्युनिस्ट आन्दोलनको विसर्जन गर्ने काम भइरहेको टिप्पणी गरे । प्रतिक्रियावादी शक्ति आफूहरुका विरुद्ध आइलागेको भन्दै ओलीले त्यसलाई चिरेर अघि बढ्नुपर्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...