काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले बाढी पहिरो पीडितको उद्धार कार्यमा खटिन सबैलाई अपिल गरेका छन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले बाढीपहिरोमा फँसेकाहरको उद्धार र राहत, घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोबासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
“पछिल्लो तीन दिनदेखि देशभर परेको अबिरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी प्रदेश नम्बर १, सुदुरपश्चिम प्रदेशलगायत देशका विभिन्न भागहरुमा ३० जनाभन्दा बढी नागरिकको ज्यान गएको छ,” विज्ञप्तिमा भनिएको छ,“त्यसैगरी यस प्राकृतिक विपद्मा परी झन्डै तीन दर्जन भन्दा बढी नागरिक सम्पर्कबिहिन भएका छन् । धानबाली थन्काउने बेलामा आएको अबिरल वर्षाका कारण किसानका धान लगायतका बालीनालीको ठुलो क्षति भएको छ । यस विपद्मा ज्यान गुमाउनुभएकाहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।”
बाढीपहिरोमा परी बेपत्ता भएकाहरुको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षालगायत सबै सरकारी निकायहरु, स्थानीय स्वयंवी, विभिन्न संघसंस्था, व्यक्ति, युवा र हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई उनले आग्रह गरेका छन् ।
साथै उनले बाढीपहिरोबाट मारमा परेका किसानहरुलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपूर्तिका लागि सरकारसँग माग गरेका छन् ।
